काठमाडौं । बलिउड अभिनेता इमरान हास्मी अभिनित सिरिज ‘तस्करी स् द स्मगलर्स वेब’ ले नेटफ्लिक्समा इतिहास रचेको छ। सिरिज नेटफ्लिक्सको विश्वव्यापी नन-इंग्लिस (गैर-अंग्रेजी) शोहरूको सूचीमा पहिलो स्थानमा पुग्दै यो उपलब्धि हासिल गर्ने पहिलो भारतीय सिरिज बनेको हो।
नेटफ्लिक्सको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने प्लेटफर्म ‘टुडुम’ का अनुसार नीरज पाण्डे निर्देशित ‘तस्करी’ ले जनवरी १२ देखि १८ सम्मको साप्ताहिक अवधिमा विश्वभर ५४ लाख (५.४ मिलियन) भ्युज प्राप्त गरेको छ। यसले दोस्रो स्थानमा रहेको कोरियन रोमान्टिक कमेडी सिरिज ‘क्यान दिस लभ बी ट्रान्सलेटेड रु’ लाई पछि पारेको हो, जसले ४० लाख भ्युज हासिल गरेको थियो।
यसअघि अत्यन्त सफल मानिएका भारतीय सिरिजहरू ‘सेक्रेट गेम्स’ र सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’ समेत नेटफ्लिक्सको नन-इंग्लिस सूचीमा पहिलो स्थानमा पुग्न सकेका थिएनन्। तर ‘तस्करी’ ले ती सबै रेकर्ड तोड्दै विश्वव्यापी दर्शकमाझ भारतीय कन्टेन्टको प्रभाव थप बलियो बनाएको छ।
यो साता नेटफ्लिक्सको विश्वव्यापी ‘टप १०’ नन-इंग्लिस शो सूचीमा अटाउने एक मात्र भारतीय सिरिज पनि ‘तस्करी’ नै बनेको छ। सिरिजले जापानी एनिमे ‘जुजुत्सु काइसेन (सिजन ३)’ (२८ लाख भ्युज), स्पेनिस सिरिज ‘अल्फा मेल्स’ (२६ लाख) र ‘द क्वीन अफ फ्लो’ (२५ लाख) लाई समेत पछि पारेको छ।
सिरिजको विश्वव्यापी सफलताप्रति प्रतिक्रिया दिँदै अभिनेता इमरान हास्मीले यसलाई सम्पूर्ण टिमको कडा परिश्रम र इमानदार प्रयासको नतिजा बताएका छन्। उनले भने, “हामीले ‘तस्करी’ लाई पूर्ण इमानदारिताका साथ बनाएका थियौं। विमानस्थलमा दिन-रात खटिने अधिकारीहरूप्रति सम्मान व्यक्त गर्ने हाम्रो प्रयासलाई दर्शकले माया दिनु ठूलो सन्तोषको विषय हो।”
उनले थपे, “यदि कथामा इमानदारिता छ भने त्यसले देशको सीमाना नाघेर संसारभर दर्शकको मन जित्न सक्छ भन्ने कुरा ‘तस्करी’ ले प्रमाणित गरेको छ।”