काठमाडौं । फिल्मकर्मीहरूको निरन्तर दबाबपछि केन्द्रीय चलचित्र जाँच समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागू गरेको छ। यसअघि विवादमा परेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ लाई संशोधन गर्दै समितिले नयाँ कार्यविधि ल्याएको हो।
संशोधित कार्यविधिमा मुख्यतः तीन महत्वपूर्ण परिवर्तन गरिएको छ। पहिलो, कार्यविधिको नाममै ‘वर्गीकरण’ शब्द थप गर्दै यसलाई ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ राखिएको छ। यसले अब चलचित्रलाई केवल जाँच मात्र नभई दर्शकको उमेर समूहअनुसार वर्गीकरण गरेर प्रदर्शन गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। दोस्रो, अघिल्लो कार्यविधिमा रहेको चलचित्र महोत्सवमा प्रदर्शनका लागि सेन्सर जाँच अनिवार्य गर्ने व्यवस्था हटाइएको छ। नयाँ कार्यविधिअनुसार अब महोत्सवमा प्रदर्शन हुने चलचित्रको ट्रेलर वा प्रोमो सामग्री निर्माताले स्वःपरीक्षण गरेर प्रचार–प्रसार गर्न सक्नेछन्।
तेस्रो, कार्यविधिको बुँदा नम्बर ५ मा चलचित्र ‘वर्गीकरण’ सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य, हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य तथा कथाको मूल थिमलाई ध्यानमा राख्दै दर्शकको उमेर समूहअनुसार वर्गीकरण गरी लोगो अंकित प्रमाणपत्र प्रदान गर्ने उल्लेख गरिएको छ। सोही बुँदामा क, ख, ग र घ शीर्षकअन्तर्गत चलचित्रको वर्गीकरण गरिएको छ।
यसैगरी, पुसदेखि लागू भएको अघिल्लो कार्यविधिको सातौँ बुँदामा रहेको ‘समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइने’ व्यवस्था पनि हटाइएको छ।
यसअघि ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ का केही प्रावधान फिल्मकर्मीहरूको तीव्र विरोधपछि विवादित बनेका थिए। सोही विवादपछि समितिले संशोधित कार्यविधि ल्याएको हो। नयाँ कार्यविधि पुस मसान्तदेखि नै लागू भइसकेको छ।