एजेन्सी । ताइवान र संयुक्त राज्य अमेरिकाबीच सेमिकन्डक्टर तथा प्रविधि क्षेत्रमा केन्द्रित एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार ताइवानले अमेरिकामा प्रविधि र ऊर्जा क्षेत्रमा ठूला लगानी गर्नेछ भने अमेरिकाले ताइवानबाट आयात हुने वस्तुमा लगाइएको भन्सार दर घटाउने भएको छ।
अमेरिकी वाणिज्य विभागले बिहीबार राति सार्वजनिक गरेको वक्तव्यअनुसार ताइवानका सेमिकन्डक्टर तथा प्रविधि कम्पनीहरूले अमेरिकामा कम्तीमा २५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्। यसको बदलामा अमेरिकाले ताइवानबाट आयात हुने वस्तुमा लाग्ने सामान्य ट्यारिफ दर २० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने निर्णय गरेको छ। यो सम्झौता विश्वव्यापी डिजिटल प्रविधिमा अत्यावश्यक मानिने सेमिकन्डक्टर उद्योगमा ताइवानको प्रमुख भूमिकालाई मध्यनजर गर्दै गरिएको बताइएको छ। विश्वका उन्नत प्रविधिमा प्रयोग हुने चिपहरूको ठूलो हिस्सा ताइवानले आपूर्ति गर्दै आएको छ, जसले विश्व अर्थतन्त्रमा यसको रणनीतिक महत्व बढाएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिबरेसन डे’ नाम दिइएको व्यापार नीतिअन्तर्गत ताइवानका वस्तुमा ३२ प्रतिशत ट्यारिफ लगाएका थिए, जुन पछि घटाएर २० प्रतिशत बनाइएको थियो। नयाँ सम्झौताले त्यसलाई थप घटाएको हो।अमेरिकी वाणिज्य विभागले उक्त सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै यसले अमेरिकी अर्थतन्त्रको लचकता बढाउने, उच्च तलबयुक्त रोजगारी सिर्जना गर्ने र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने जनाएको छ।
सम्झौताअनुसार ताइवानले अमेरिकामा उन्नत सेमिकन्डक्टर, ऊर्जा र कृत्रिम बुद्धिमत्ता(AI) उत्पादन तथा नवप्रवर्तन क्षमताको विकासमा लगानी गर्नुका साथै अमेरिकी सेमिकन्डक्टर आपूर्ति शृंखलामा थप लगानीका लागि कम्तीमा त्यति नै रकम बराबरको क्रेडिट ग्यारेन्टी पनि प्रदान गर्नेछ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको पृष्ठभूमिमा ताइवानको चिप उद्योगलाई लामो समयदेखि ‘सिलिकन शिल्ड’ का रूपमा हेरिँदै आएको छ। यसले ताइवानमाथि आक्रमण वा नाकाबन्दी हुन नदिन रणनीतिक सुरक्षा कवचको काम गर्ने विश्वास गरिएको छ।
ताइवानका आर्थिक मामिला मन्त्री कुङ मिङ-सिनले हालको योजनाअनुसार ताइवान विश्वकै प्रमुख एआई सेमिकन्डक्टर उत्पादकको रूपमा रहने बताएका छन्। उनले सन् २०३० सम्म उन्नत चिप उत्पादन क्षमता ८५ प्रतिशत ताइवान र १५ प्रतिशत अमेरिकामा रहने र २०३६ सम्म ८०-२०को अनुपातमा पुग्ने प्रक्षेपण गरेका छन्।