काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आम कार्यकर्ता र नेताहरुलाई कांग्रेसमै फर्किन भावुक आह्वान गर्नुभएको छ। माघ १ गते सार्वजनिक गर्नुभएको सन्देशमा उहाँले कांग्रेसभित्र देखिएको विभाजन र अन्तरविरोधप्रति आत्मालोचनासहित धारणा व्यक्त गर्नुभएको हो।
कांग्रेस एकताका लागि गरिएको “भागिरथ प्रयास” असफल भएको स्वीकार्दै डा। कोइरालाले दोष-निर्दोषको बहसले राष्ट्रिय राजनीति थप धुमिल पार्ने भएकाले त्यसतर्फ नजाने स्पष्ट गर्नुभयो। “हामी सबै कहीँ न कहीँ चुकेका छौं,” भन्दै उहाँले पछिल्ला घटनाहरूको वस्तुपरक मूल्यांकन इतिहासमै छोड्ने बताउनुभयो। उहाँले कांग्रेसलाई कमजोर पार्ने उद्देश्यले राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबाना बुनिएको उल्लेख गर्दै त्यसलाई रोक्न नसकिएको स्वीकार गर्नुभयो। यद्यपि, आसन्न निर्वाचनमा कांग्रेस एक भएर जान सबैको इमानदार प्रयास रहे पनि परिणाम अनुकूल नआएको उहाँको भनाइ छ।
यस कठिन घडीमा पार्टीका संस्थापक नेता विपी कोइरालालाई स्मरण गर्नुपर्ने उल्लेख गर्दै डा। कोइरालाले विपीले नियतिमा विश्वास गर्ने गरेको सन्दर्भ प्रस्तुत गर्नुभयो। कांग्रेस एकढिक्का हुन नसक्नु पनि “नियतिको कठोर सत्य” भएको उहाँको टिप्पणी छ। आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने जिम्मेवारी अहिले सबैका सामु रहेको भन्दै उहाँले संगठनात्मक ऊर्जा प्रस्फुटनबिना त्यो सम्भव नहुने धारणा राख्नुभयो। “कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी हो,” भन्दै साझा इतिहास, नेता र शहीदहरूबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
डा.कोइरालाले पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै सबैलाई ‘घर फर्किन’ आग्रह गर्नुभयो। “यहाँ जीत–हार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौं,” भन्दै उहाँले आसन्न निर्वाचनमा जनताको घरदैलोमा पुगेर भोट माग्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सन्देशको अन्त्यमा उहाँले नेपाली जनताको विश्वास र भरोसालाई स्मरण गर्दै समृद्धिको यात्रामा कांग्रेस पुनः जनतासँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।