काठमाडौं । माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूको प्रमुख आतिथ्यतामा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज औपचारिक रूपमा शुभारम्भ भएको छ। प्रदेशको शान्ति, सुरक्षा व्यवस्था तथा समसामयिक चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।
गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मधेश प्रदेशको सुरक्षा अवस्था सुदृढ बनाउनु संघ, प्रदेश र स्थानीय तहको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले सीमावर्ती सुरक्षा, अपराध नियन्त्रण, सामाजिक सद्भाव र कानून कार्यान्वयनमा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
गृहमन्त्री अर्यालले नागरिकको सुरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको भन्दै शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा निकायलाई अझ जिम्मेवार र जवाफदेही बन्न आग्रह गरे। साथै, उनले सूचना प्रवाह, प्रविधिको प्रयोग र समुदायसँगको सहकार्यलाई बलियो बनाउँदै सुरक्षा रणनीति अघि बढाउनुपर्नेमा जोड दिए।
गोष्ठीमा मधेश प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरू, प्रशासनिक प्रमुखहरू, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। कार्यक्रममा प्रदेशको समग्र सुरक्षा अवस्था, सीमा अपराध, लागूऔषध नियन्त्रण, मानव तस्करी तथा आपराधिक गतिविधि न्यूनीकरणका विषयमा कार्यपत्र प्रस्तुत र छलफल हुने जनाइएको छ।
आयोजकका अनुसार गोष्ठीले मधेश प्रदेशमा दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्न ठोस सुझाव र कार्ययोजना तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।