काठमाडौं । यस वर्षको पहिलो सुपरहिट नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले नेपालपछि भारतमा पनि उल्लेखनीय सफलता हात पारेको छ। नेपालमा ४० भन्दा बढी हलमा प्रदर्शन हुँदै ५१ दिन पूरा गरेको फिल्मले भारतका विभिन्न सहरका ६ वटा हलमा पनि लगातार ५१ दिन प्रदर्शनको कीर्तिमान बनाएको छ।
गत मंसिर ५ गतेदेखि भारतमा प्रदर्शन सुरु भएको ‘ऊनको स्वीटर’ भारतभर करिब ४० वटा हलमा रिलिज गरिएको थियो। तीमध्ये चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मलमा फिल्मले ५१ दिनसम्म निरन्तर प्रदर्शन गरेको निर्देशक नवीन चौहानले जानकारी दिए।
निर्देशक चौहानले भारतमा नेपाली फिल्मले यसरी लामो समयसम्म निरन्तर प्रदर्शन हुनु नेपाली फिल्म क्षेत्रकै ठूलो उपलब्धि भएको बताएका छन्। उनका अनुसार, गान्तोकबाट सुरु भएको प्रदर्शन यात्राले नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडीसहित पूर्वोत्तर भारतका क्षेत्रमा फिल्मको बलियो पकड बनाएको थियो। ती क्षेत्रका धेरैजसो हलमा प्रारम्भिक शोहरू हाउसफुल भएका थिए।
फिल्मले मुम्बई, बैंगलोर र हैदराबादजस्ता भारतका ठूला सहरमा पनि दर्शकको राम्रो साथ पाएको निर्देशक चौहानको भनाइ छ। अन्तरजातीय प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र सुनिल पोखरेललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘काफ्ले’ र ‘मखमली’ गीतहरू दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका छन्। यिनै गीत र भावनात्मक कथावस्तुले नेपालमा फिल्मले ११ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको बताइएको छ।
नेपाल र भारत दुवै बजारमा प्राप्त सफलताले ‘ऊनको स्वीटर’ ले नेपाली फिल्मको अन्तर्राष्ट्रिय सम्भावनालाई थप बलियो बनाएको विश्लेषकहरूको भनाइ छ।