काठमाडौँ । नेपाली पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनका सम्मानित व्यक्तित्व, वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ। घुँडासम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रहनुभएका दाहाललाई गएराति आफ्नै निवास मैतीदेवीमा हृदयाघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति समेत रहनुभएका दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिनुभएको छ।
वि.सं.१९९८ साल कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति-३, रामपुरमा जन्मिनुभएका दाहालले पत्रकारिता, राजनीति र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। उहाँ नेपाली कांग्रेस ओखलढुङ्गाको जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्यका रूपमा सक्रिय रहनुभयो।
वि.सं. २०५६ सालमा ओखलढुङ्गा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहाल २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बनेर सरकारको नेतृत्व तहमा पुग्नुभएको थियो। साथै, गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै उहाँले नेपाली पत्रकारिताको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।
स्व.दाहालका श्रीमती र दुई छोरा हुनुहुन्छ। उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्र, लोकतान्त्रिक आन्दोलन र सार्वजनिक जीवनले एक अनुभवी, सिद्धान्तनिष्ठ र समर्पित व्यक्तित्व गुमाएको छ।