काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएसँगै प्राथमिक सेयर (आईपीओ) निष्कासनको चहलपहल तीव्र बनेको छ । बोर्डको हरियो संकेत पाएका ८ कम्पनीले अब दुई महिनाभित्र सर्वसाधारणका लागि आईपीओ ल्याउनै पर्ने कानुनी बाध्यता छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार विवरणपत्र वा बिक्री प्रस्ताव स्वीकृत भएको मितिले दुई महिनाभित्र सेयर बिक्री खुला गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार अब बजारमा हाइड्रोपावर, सिमेन्ट, होटल तथा ऊर्जा क्षेत्रका कम्पनीहरूको आईपीओ पालैपालो आउने तयारीमा छन्।
आईपीओ निष्कासनको तयारीमा रहेका ८ कम्पनी
सेबोनबाट स्वीकृति पाइसकेका तर सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न बाँकी रहेका कम्पनीहरू यस्ता छन्:
सोलु हाइड्रोपावर
सुपर खुदी हाइड्रोपावर
पाल्पा सिमेन्ट इन्डस्ट्रिज
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक
भुजुङ हाइड्रोपावर
होटल फरेस्ट इन
शिखर पावर डेभलपमेन्ट
रिजलाइन इनर्जी
यीमध्ये सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ खोल्ने मिति घोषणा गरिसकेको छ। कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म ८२ लाख कित्ता सेयर निष्कासन गर्दैछ। सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँभन्दा माथि रहेको छ।
सूचीमा रहेका ८ मध्ये ६ वटा जलविद्युत् कम्पनी छन्। सुपर खुदी, सूर्यकुन्ड, भुजुङ, शिखर पावर र रिजलाइन इनर्जीले आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरिसकेर अब सर्वसाधारणतर्फ जाने तयारी गरेका छन्। केही कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहे पनि दीर्घकालीन परियोजनाका कारण लगानीकर्ताको चासो कायमै देखिन्छ।
ऊर्जा बाहेक पाल्पा सिमेन्ट र होटल फरेस्ट इन ले पनि आईपीओमार्फत पूँजी जुटाउँदैछन्। तानसेन ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्टले ७५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ भने शिवपुरी वन क्षेत्रमा अवस्थित होटल फरेस्ट इनले ४० लाख कित्ता सेयर सर्वसाधारणलाई दिनेछ।
नियमावलीअनुसार कम्पनीहरूले जारी पूँजीको कम्तीमा १० प्रतिशत र बढीमा ४९ प्रतिशतसम्म आईपीओ निष्कासन गर्न पाउँछन्। अधिकांश कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि छुट्याएका छन्।
एकपछि अर्को गर्दै आईपीओ आउने संकेतले पुँजी बजारमा गतिविधि बढ्ने अपेक्षा गरिएको छ। यद्यपि लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, नेटवर्थ, आम्दानी र रेटिङलाई ध्यानपूर्वक विश्लेषण गर्न विज्ञहरूले सुझाव दिएका छन्।