एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले नियन्त्रणमा लिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। यो दाबीले ल्याटिन अमेरिकी राजनीति मात्र होइन, विश्व कूटनीतिमा पनि तीव्र तरंग सिर्जना गरेको छ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध “ठूलो र निर्णायक” सैन्य कारबाही सफलतापूर्वक सम्पन्न गरेको बताएका छन्। उनका अनुसार उक्त कारबाहीका क्रममा राष्ट्रपति मादुरोलाई उनकी पत्नीको साथमा पक्राउ गरी भेनेजुएलाबाट बाहिर लगिएको हो। यद्यपि अमेरिकी प्रशासनका अन्य निकायबाट यसबारे औपचारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन।
शनिबार बिहान भेनेजुएलाको राजधानी काराकाससहित अन्य प्रमुख सैन्य केन्द्रहरूमा विस्फोटका आवाज सुनिएको र आकाशमा धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही सैन्य प्रतिष्ठान वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो, जसले देशमा असामान्य अवस्था सिर्जना गरेको छ।
मादुरो नेतृत्वको सरकारले भने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीलाई गम्भीर आरोपको रूपमा लिँदै यसलाई आफ्नो सार्वभौमिकतामाथिको खुला सैन्य आक्रमण भनेको छ। सरकारले तत्काल राष्ट्रिय आपतकाल घोषणा गर्दै सेना र सुरक्षानिकायलाई उच्च सतर्कतामा राखेको जनाएको छ। साथै, भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसँग अमेरिकाको कदमको निन्दा गर्न आह्वान गरेको छ।
अमेरिकाले यसअघि पनि मादुरोमाथि नार्को-राज्य सञ्चालन गरेको, मानवअधिकार उल्लङ्घन गरेको र चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएको छ। सन् २०१३ मा ह्युगो चाभेजपछि सत्ता सम्हालेका मादुरोले भने अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण जमाउन आफ्नो सरकारलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।
सन् १९८९ मा पानामाका नेता म्यानुएल नोरिएगालाई हटाउन अमेरिकाले गरेको सैन्य आक्रमणपछि ल्याटिन अमेरिकी क्षेत्रमा यस्तो प्रत्यक्ष सैन्य हस्तक्षेप भएको उदाहरण कमै देखिएको छ। त्यसैले ट्रम्पको पछिल्लो दाबी सत्य भए त्यसले क्षेत्रीय तथा विश्व राजनीतिक समीकरणमा गहिरो प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।
हाल यो घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ भने वास्तविक अवस्था के हो भन्ने विषयमा विश्वको ध्यान भेनेजुएलातर्फ केन्द्रित भएको छ।