एजेन्सी । गाजामा फेरि एकपटक कडा जाडोले जनजीवन तहसनहस बनाएको छ। इजरायलको युद्धले घाइते भएका, बालबालिका र वृद्धहरूका लागि अवस्था झन् असह्य बन्दै गएको छ। इजरायलले सीमित मात्र मानवीय सहायता प्रवेश गर्न दिएको यस घेराबन्दीमा परेको प्यालेस्टिनी भूभागमा सयौँ हजार मानिस विस्थापित छन् र न्यूनतम स्रोतका साथ बाँच्न संघर्ष गरिरहेका छन्।
केन्द्रीय गाजाको अल-जुवाइदामा खेलिरहेका बालबालिकाको समूहमाथि इजरायली गोलाबारी हुँदा नौ वर्षीय असद अल-मध्नाले आफ्नो बायाँ हात गुमाए। सोही आक्रमणमा उनको खुट्टामा पनि गम्भीर चोट लागेको थियो।
जाडो सुरु भएसँगै असदको पीडा झन् बढेको छ। उनको खुट्टामा राखिएका धातुका रड र पिन चिसोमा कडा हुने भएकाले हरेक पाइला पीडादायी बन्छ।
“जाडोमा मेरो खुट्टा र हात धेरै दुख्छन्, त्यसैले म अरू बच्चासँग खेल्न सक्दिन,” असदले अल जजीरासँग भने।“मलाई अहिलेसम्म कृत्रिम हात (प्रोस्थेटिक) पनि दिइएको छैन। लुगा फेर्न गाह्रो हुन्छ, चिसोमा शौचालय जानु पनि ठूलो चुनौती हो,” उनले थपे।“आमाबाबु बिना म केही गर्न सक्दिन। राति अत्यधिक चिसो असह्य हुन्छ।”
अक्टोबर १० देखि इजरायल र हमासबीच रहेको युद्धविराम निकै कमजोर रहेको प्यालेस्टिनी र मानवअधिकार समूहहरूको भनाइ छ। उनीहरूका अनुसार यो ‘नाम मात्रैको युद्धविराम’ हो, दुई वर्षदेखि चलिरहेको विनाशकारी युद्ध वास्तवमा रोकिएको छैन।
यस तथाकथित युद्धविरामका बाबजुद, भीडभाड भएका शिविरहरूमा बसिरहेका प्यालेस्टिनीहरू ध्वस्त टेन्ट, हिलो र न्यूनतम सुविधाबीच-अत्यन्तै कठिन मानवीय अवस्थासँग जुधिरहेका छन्। सीमित स्रोतले गर्दा सबैभन्दा कमजोर समूहका लागि जीवन झनै कठोर बन्दै गएको छ।