एजेन्सी । पूर्व अस्ट्रेलियन क्रिकेट ब्याट्सम्यान डेमियन मार्टिन मेनिन्जाइटिसको संक्रमण भएपछि कृत्रिम कोमामा राखिएको खबर आएको छ। ५४ वर्षीय मार्टिन २६ डिसेम्बरमा अचानक बिरामी परेपछि क्वीन्सल्यान्डको एक अस्पतालमा भर्ना गरिएको हो।
सन् १९९२ देखि २००६ सम्म अस्ट्रेलियाका लागि ६७ टेस्ट खेल खेलेका मार्टिनले चार एसेस सिरिज खेलेका थिए। उनले २००६–०७ को एसेस सिरिजको तेस्रो टेस्टअघि तत्कालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। मार्टिन अस्ट्रेलियाका लागि दुई पटक विश्वकप विजेता पनि बनेका छन्। क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत(CEO) टोड ग्रीनबर्गले मार्टिनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “डेमियनको बिरामीको खबरले म दुःखी छु। क्रिकेट अस्ट्रेलिया र सम्पूर्ण क्रिकेट समुदायका तर्फबाट उहाँप्रति शुभकामना छ।”
मार्टिनका परिवारको तर्फबाट बोल्दै उनका नजिकका मित्र तथा पूर्व अस्ट्रेलियन टोलीका विकेटकिपर एडम गिलक्रिस्टले मार्टिन अस्पतालमा उपचाररत रहेको पुष्टि गरे। उनले भने, “उहाँले उत्कृष्ट उपचार पाइरहनुभएको छ। अमान्डा (मार्टिनकी पार्टनर) र परिवारलाई धेरै मानिसहरूले प्रार्थना र शुभकामना पठाइरहेको जानकारी छ।”
सिड्नी मोर्निङ हेराल्डका अनुसार चिकित्सकहरूले आगामी केही दिनभित्र मार्टिनलाई कोमाबाट बाहिर ल्याउने आशा गरेका छन्। बीबीसी हेल्थका अनुसार, मेनिन्जाइटिस भनेको मस्तिष्क र मेरुदण्डलाई घेरेका सुरक्षात्मक झिल्लीहरूमा हुने संक्रमण हो, जुन गम्भीर हुन सक्छ।
पूर्व अस्ट्रेलियन रुल्स फुटबल खेलाडी ब्राड हार्डीले पर्थको टएच् रेडियोमा बोल्दै भने, “पश्चिमी अस्ट्रेलियाका च्याम्पियन डेमियन मार्टिन बक्सिङ डेमा बिरामी परेपछि हाल क्वीन्सल्यान्डको अस्पतालमा छन्। सबैले उहाँको स्वास्थ्यलाभका लागि सकारात्मक सोच र शुभकामना दिनुपर्छ।” पूर्व अस्ट्रेलियन क्रिकेटर तथा हाल नर्थह्याम्पटनशायरका मुख्य प्रशिक्षक ड्यारेन लेहम्यानले सामाजिक सञ्जाल ह् मा लेखेका छन्, “धेरै माया र प्रार्थना‘ बलियो भएर लडिरहनुहोस्, लिजेन्ड।”
आफ्नो क्रिकेट करियरमा डेमियन मार्टिनले टेस्ट क्रिकेटमा ४,४०६ रन बनाएका थिए, जसको औसत ४६.३७ रहेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २०८ खेलमा ५,३४६ रन बनाउँदै ४० को औसत कायम गरेका थिए, जसमा पाँच शतक र ३७ अर्धशतक समावेश छन्।
मार्टिनले २००३ को विश्वकप फाइनलमा भारतविरुद्ध टुटेको औँलासहित ब्याटिङ गर्दै अविजित ८८ रन बनाएका थिए। उनले सन् २००३ मा यर्कशायरका लागि विदेशी खेलाडीका रूपमा पनि प्रतिनिधित्व गरेका थिए।