काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवको पहिचान तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ।
हालसम्म ३२१ शव सङ्कलन गरिएकोमा २८० शवको फरेन्सिक परीक्षण तथा डिएनए र अन्य जैविक नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गर्न थालेका थिए। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक परीक्षण, डिएनए तथा जैविक नमूना सङ्कलन र अभिलेखीकरणको काम सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार त्रिशूली र नारायणी नदीबाट हालसम्म ३२१ शव सङ्कलन भइसकेका छन्। तीमध्ये १२ शवको सनाखत भएपछि आफन्तले बुझिसकेका छन्।सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका रहेका छन्। बाँकी १२६ शवको पहिचान खुल्न सकेको छैन वा उनीहरूको अवस्था स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पहिचान खुल्न नसकेका शव भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए। उनका अनुसार भदौ १३ गते ९६, भदौ १४ गते १०३ र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको छ।
नदी किनारमा हराइरहेका तथा बेपत्ता व्यक्तिको खोजी कार्य भने अझै जारी छ। प्रहरीले दैनिक रूपमा त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा शव खोज्ने कार्य गरिरहेको जनाएको छ।
नदीबाट फेला परेका शवलाई भरतपुर अस्पताल ल्याएर फरेन्सिक परीक्षण, डिएनए तथा अन्य जैविक नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ।