एजेन्सी । नाटक द लायन किङ मा ‘यङ नाला’को भूमिका निभाएर चर्चित भएकी पूर्व बाल कलाकार इमानी डिया स्मिथको २५ वर्षको उमेरमा निधन भएको छ। न्यू जर्सीको एडिसनस्थित आफ्नै घरमा चक्कु प्रहारबाट गम्भीर घाइते भएपछि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय प्रहरी र अभियोजन निकायले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा उनका प्रेमी पक्राउ परेका छन्।
प्रहरीका अनुसार डिसेम्बर २१, २०२५ बिहान करिब ९:१८ बजे ग्रोभ एभेन्युस्थित एक घरमा चक्कु प्रहार भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यहाँ स्मिथलाई चोटपटक लागेको अवस्थामा भेटिएको र तत्काल रोबर्ट वुड जोन्सन युनिभर्सिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
३५ वर्षीय प्रेमी जोर्डन डी। ज्याक्सन-स्मललाई बिना कुनै प्रतिरोध पक्राउ गरी पहिलो दर्जाको हत्या, बालकको कल्याणमा जोखिम पुर्याएको, र गैरकानुनी हतियार राखेकोलगायतका अभियोग लगाइएको छ। मिडलसेक्स काउन्टी अभियोजकको कार्यालयले स्मिथ र अभियुक्त एकअर्कालाई पहिलेदेखि चिनेको बताउँदै घटना आकस्मिक नभएको जनाएको छ।
इमानी डिया स्मिथले सन् २०११ देखि २०१२ सम्म ब्रडवेमा मञ्चन भएको द लायन किङ मा ‘यङ नाला’को भूमिकाबाट व्यापक प्रशंसा पाएकी थिइन्। परिवार र साथीहरूले उनलाई “ऊर्जाशील, मायालु र अत्यन्त प्रतिभाशाली” व्यक्तिका रूपमा सम्झिएका छन्।
उनको निधनपछि स्मिथकी काकी किरा हेल्परले उनका अभिभावकलाई सहयोग, अन्त्येष्टि खर्च, कानुनी प्रक्रिया र उनकी तीन वर्षे छोराको हेरचाहका लागि गोफन्डमी अभियान सुरु गरेकी छन्। अभियानमा प्रकाशित सन्देशमा उनले इमानीको “पूरै जीवन बाँकी थियो” भन्दै उनको कला र जीवन्त व्यक्तित्वको स्मरण गरेकी छन्।
इमानी डिया स्मिथका एक छोरा, आमा-बुबा मोनिक रान्स-हेल्पर र रानी हेल्पर, दुई कान्छा दाजुभाइरबहिनी तथा अन्य परिवारजन रहेका छन्।