एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका बाढी, हिमबाढी तथा जलवायुजन्य विपद्ले जलवायु संकटको वास्तविक र गम्भीर स्वरूप देखाएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय जनरल डिबेटलाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपालको सगरमाथाको काखबाट आफूले दिएको जलवायु परिवर्तनसम्बन्धी चेतावनी अहिले वास्तविकतामा परिणत हुँदै गएको बताउनुभएको हो । तीन वर्षअघि नेपाल भ्रमणका क्रममा ‘विश्वको छानो खसिरहेको’ भन्दै हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको हिउँ पग्लाइबारे विश्वलाई सचेत गराएको स्मरण गर्दै उहाँले त्यसबेला व्यक्त गरिएको चिन्ता अहिले नेपालमा देखिएका घटनाले पुष्टि गरिरहेको बताउनुभयो ।
गुटेरेसले जलवायु परिवर्तन अब भविष्यमा आउन सक्ने सम्भावित खतरा मात्र नभई विश्वले प्रत्यक्ष रूपमा अनुभव गरिरहेको वास्तविकता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जलवायु संकटको सबैभन्दा ठूलो भार भने कम जिम्मेवार तथा विकासशील देशहरूले बेहोर्नुपरिरहेको छ । जलवायु परिवर्तनबाट प्रभावित कमजोर देशहरूले न्याय पाउनुपर्ने भन्दै गुटेरेसले प्रदूषकहरूले यसको मूल्य तिर्नुपर्ने धारणा राख्नुभयो । धनी तथा विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र अनुकूलनका लागि उपलब्ध वित्त बढाउनुपर्ने उहाँको भनाइ छ ।
हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोषमा पर्याप्त रकम नरहेको उल्लेख गर्दै उहाँले जलवायु संकटबाट प्रभावित देशका लागि आवश्यक स्रोत उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभयो । गुटेरेसले जलवायु संकटसँगै विश्वमा द्वन्द्व, असमानता र प्रविधिको गलत प्रयोगसमेत गम्भीर चुनौतीका रूपमा देखा परेको बताउनुभयो । मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारलगायतका क्षेत्रमा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा चुनौती थपेको उहाँको भनाइ छ ।
प्रविधिको जिम्मेवारीविहीन प्रयोग खतरनाक बन्न सक्ने चेतावनी दिँदै उहाँले जीवन र मृत्युको निर्णय मेसिनको हातमा सुम्पिन नहुने बताउनुभयो । ‘हत्यारा रोबोट’को प्रयोग रोक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यसैबीच, महासभाका अध्यक्ष तथा बंगलादेशका विदेशमन्त्री डा। खलिलुर रहमानले पनि जलवायु परिवर्तनविरुद्ध विश्वको सामूहिक प्रयास पर्याप्त हुन नसक्दा नेपाल र चीनमा बाढीबाट ठूलो क्षति भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल न्यूयोर्कमा जारी छ । महासभामा नेपालका प्रधानमन्त्री बालेन शाहले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत राई तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।