काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेसँगै पदबाट राजीनामा दिने प्रक्रिया अघि बढाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी सहमति भएपछि उनले एक-दुई साताभित्रै राजीनामा दिने तयारी गरेको बताइएको छ।
यदि बालेन शाहले राजीनामा दिए भने काठमाडौं महानगरपालिकाको मेयर पद औपचारिक रूपमा रिक्त हुनेछ। वर्तमान कार्यकालमा करिब १६ महिना समय बाँकी रहने भएकाले महानगरमा अब के हुन्छ भन्ने प्रश्न उठेको छ।
उपनिर्वाचन हुन्छ कि हुँदैन:
स्थानीय तह निर्वाचन ऐन अनुसार मेयर, उपमेयर वा अन्य जनप्रतिनिधिको पद कुनै कारणले रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन गरिनुपर्छ। तर, पदावधि एक वर्षभन्दा कम बाँकी भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि सोही ऐनमा छ।
बालेन शाहले अबको दुई साताभित्रै राजीनामा दिएको अवस्थामा मेयरको कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहने भएकाले काठमाडौं महानगरपालिकामा उपनिर्वाचन गर्न कानुनी अड्चन देखिँदैन।
उपनिर्वाचनको मिति कसले तोक्छ:
उपनिर्वाचन कहिले गर्ने भन्ने निर्णय तत्कालीन सरकारले गर्छ। कानुनअनुसार सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगका एक अधिकारीका अनुसार कति स्थानमा उपनिर्वाचन गर्नुपर्ने भन्ने विषय परामर्शको मुख्य आधार हुन्छ।“कुन-कुन ठाउँमा उपनिर्वाचन गर्नुपर्ने छ भन्ने हेरेर सरकारले मिति घोषणा गर्छ,” उनले बताए।
नयाँ मेयर नआउन्जेल कसले चलाउँछ महानगर:
उपनिर्वाचनबाट नयाँ मेयर निर्वाचित नहुँदासम्म उपमेयरले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ। काठमाडौं महानगरपालिकामा हाल उपमेयर सुनीता डंगोल छन्। उनी नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।
राजनीतिक र प्रशासनिक असर:
मेयर बालेन शाहको सम्भावित राजीनामाले काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्वमा मात्रै होइन, आगामी उपनिर्वाचन र राष्ट्रिय राजनीतिमा समेत नयाँ तरंग ल्याउने देखिएको छ। अब सबैको ध्यान राजीनामाको औपचारिक घोषणासँगै सरकार र निर्वाचन आयोगको निर्णयतर्फ केन्द्रित भएको छ।