काठमाडौँ । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी बैशाखदेखि सुरु हुने भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वन मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र कलाकारहरूको उपस्थितिमा महोत्सवको औपचारिक शुभारम्भ गरियो।
महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार यो कार्यक्रमले नेपाली फिल्म प्रवर्द्धनसँगै फिल्म पर्यटनलाई सहरदेखि गाउँसम्म जोड्ने लक्ष्य लिएको छ। कर्णालीका कथा, संस्कृति, भाषा र जीवनशैलीलाई फिल्ममार्फत उजागर गर्न कथा आह्वान गरिएको छ, उत्कृष्ट कथालाई सम्मान र सम्भव भए फिल्म निर्माणसमेत गरिनेछ।
वन मन्त्री चौलागाईंले कर्णाली मौलिक कथाको उत्कृष्ट ‘हटस्पट’ भएको बताउँदै फिल्मले छोटो समयमा सोच बदल्न सक्ने शक्ति राख्ने उल्लेख गरे। महोत्सवका सद्भावना दूत प्रदीप खड्काले भने, “कर्णालीलाई दयाले होइन, गौरवले हेर्नुपर्छ। नेपाली फिल्मलाई नयाँ उचाइमा लैजान कर्णाली नै केन्द्र बन्न सक्छ।”
चार चरणमा हुने महोत्सव सुर्खेत, काठमाडौं र जुम्लासम्म फैलिनेछ, जहाँ फिल्म, पर्यटन र जलवायु सन्देश एकसाथ प्रस्तुत गरिनेछ।