काठमाडौं । बलिउडका चर्चित अभिनेता संजय दत्त काठमाडौं आउने भएका छन् । तर यसपटक उनको नेपाल आगमन फिल्म छायांकन वा प्रमोशनका लागि भने होइन । उनी क्यासिनो उद्घाटन कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी हुन लागेका हुन् ।
काठमाडौंस्थित होटल बाराहीले आगामी २४ पुसमा सञ्चालनमा ल्याउन लागेको ‘बादशाह क्यासिनो’ को उद्घाटनका लागि संजय दत्तलाई निम्त्याइएको हो । होटल स्रोतका अनुसार, दत्त क्यासिनोको प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन् ।“उहाँलाई विशेष अतिथिको रूपमा ल्याउन लागेका हौं । क्यासिनो प्रमोशन नै मुख्य उद्देश्य हो,” होटल स्रोतले जनाएको छ ।
संजय दत्तको नेपाल बसाइ निकै छोटो रहनेछ । उद्घाटन कार्यक्रममा सहभागिता जनाएपछि उनी सोही दिन भारत फर्किने बताइएको छ ।
नेपालमा संजय दत्तको फ्यान फलोइङ उल्लेखनीय छ । होटलका अधिकांश पाहुना भारतीय पर्यटक भएकाले पनि दत्तलाई उद्घाटनमा ल्याउन लागिएको बताइएको छ । क्यासिनोले सामाजिक सञ्जालमार्फत समेत यसबारे जानकारी सार्वजनिक गरिसकेको छ । यसैबीच, संजय दत्त अभिनीत फिल्म ‘धुरन्धर’ हाल नेपाली सिनेमा हलहरूमा प्रदर्शनरत छ, जसले उनको लोकप्रियता अझ बढाएको छ ।
संजय दत्तको नेपालसँगको सम्बन्ध केवल फ्यान फलोइङमा मात्र सीमित छैन । यसअघि उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिताको विवाह अवसरमा शुभकामना सन्देश पठाएका थिए ।रोचक तथ्य के छ भने, संजय दत्तका पिता तथा दिवंगत अभिनेता सुनिल दत्तको पनि नेपाली फिल्मसँग ऐतिहासिक सम्बन्ध रहेको छ । सुनिल दत्तले नेपाली फिल्म ‘माइतीघर’ मा अतिथि कलाकारको भूमिका निभाएका थिए । बी।एस। थापा निर्देशित उक्त फिल्ममा बलिउड अभिनेत्री माला सिन्हा मुख्य भूमिकामा थिइन् ।
यसरी, फिल्म, पारिवारिक आत्मीयता र फ्यानको मायाले जोडिएको संजय दत्तको नेपाल आगमन यसपटक क्यासिनो उद्घाटनमार्फत चर्चा बटुल्दैछ ।