सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सिंगो अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताएका छन् । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित जुगल गाउँपालिका ५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालय भवन उद्घाट्नको क्रममा शुक्रबार उनले यस्तो बताएका हुन् ।
‘देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको छ, तपाइँहरूले केही कुरा सुन्नु भएकै होला, मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु, केही सकरात्मक संकेत पनि देखिएको पनि छ,’ प्रधानमन्त्री दाहालले भने ।
साथै उनले आफूले तेश्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको बताए । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।
‘बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा म ढुक्क छु,’ प्रधानमन्त्री दाहालले भने ।
यस क्रममा उनले नेपालका लागि चिनियाँ सहयोगको खुलेर प्रसंसा गरेका थिए । चनौटेमा चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित विद्यालयका अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनियाँ मोडेल अनुसार निर्मित छन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग भएको छ । अन्य सबै सामग्री चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट बनाइएको हो ।
सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सकिएको विद्यालय भवन तत्कालीन चिनियाँ राजदूत होउ यान्छी हुँदा नै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो । तर निर्माणको तीन वर्षपछि प्रधानमन्त्री दाहालले शुक्रबार विद्यालयको भवन उद्घाटन गरेका हुन् ।
यसैबीच उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सङ पनि उपस्थित थिए । उनले हिमालमुनि रमाउने नेपाली देखेर छक्क परेको र चीनले विद्यालयबाहेक अन्य विभिन्न भौतिक संरचना र पूर्वाधार पुनर्निर्माणमा सहयोग गरिरहेको उदाहरण दिए ।