काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् ।
भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नहाँले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए।
“देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उहाँले भन्नुभयो । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने उहाँले विश्वास दिलाउनुभयो ।
“गठबन्धनभित्र प्रधानमन्त्रीको टुङ्गो त लगाएका छैनौँ । गठबन्धनमा सल्लाह गरेर टुङ्गो लगाउँछौँ”, उनले भने, “प्रधानमन्त्री पदका कारण वर्तमान गठबन्धन टुट्दैन। जबसम्म संविधानमाथि, सुशासन र समृद्धिको यात्रामा खतरा पैदा रहन्छ तबसम्म गठबन्धन रहन्छ ।”
निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रिया थालनी गर्ने विश्वास व्यक्त गरेका छन् । सुशासन र समृद्धिका लागि परिवर्तनको वाहक दलको नेतृत्व भएमात्र मुलुकमा समृद्धि सम्भव हुने उनको दाबी छ । संविधान जारी भएपछिको दोस्रो निर्वाचनका रुपमा यो ऐतिहासिक महत्वको निर्वाचन भएको उनको भनाइ छ ।
“कुन पार्टीले कति मत ल्यायो भन्नेभन्दा पनि ठूलो कूरा निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भन्ने हो”, अध्यक्ष दाहालले भने, “लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण हुन्छ । निर्वाचन सम्पन्न हुनु भनेको संविधानले यसका प्रणालीले ठीक ढङ्गले काम गर्दैछ भन्ने प्रमाण हो ।”
उनले स्वच्छ, धाँधलीरहित र निष्पक्ष निर्वाचन सम्पन्न हुनु ठूलो कुरा भएको बताएका छन् । “संविधानलाई संस्थागत बनाउने विषयमा यस निर्वाचनको ठूलो महत्व छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “संविधानमाथि नै प्रश्न चिह्न उठाउन खोज्नेहरुका लागि यो निर्वाचनमा सहभागिता पनि आफैँमा ठूलो प्रमाण पनि हो ।”
आफू गोरखाबाट निर्वाचन लडे पनि चितवनको विकासमा आफ्नो ध्यान सदैव रहने प्रतिबद्धता व्यक्त गरे । “मैले चितवन छाडेको होइन, तर निर्वाचनका लागि गोरखा गएको पक्कै हो”, उनले भने, “चितवनसँग मेरो सम्बन्ध टुट्ने कुरा हुँदैन।”