काठमाडौं । चन्द्र पन्तको निर्देशनमा तयार भइरहेको फिल्म ‘आ बाट आमा २’ प्रदर्शनको तयारीमा रहे पनि यसको छायांकन भने अझै पूरा भएको छैन।
असोज ३० गते दसैंको अवसर पारेर प्रदर्शनमा आउने फिल्मको प्रदर्शन अब १६ दिन मात्रै बाँकी रहँदा निर्माण टिमले केही महत्वपूर्ण दृश्यको छायांकनलाई निरन्तरता दिएको हो। तीन दिनअघि काठमाडौंको मूलपानीमा फिल्मको एक गीतको छायांकन गरिएको थियो। त्यसपछि निर्देशक चन्द्र पन्त र अभिनेता पल शाह हङकङ पुगेका छन्।
निर्देशक पन्तका अनुसार वैदेशिक रोजगारीको कथावस्तुमा आधारित फिल्म भएकाले हङकङमा केही महत्वपूर्ण दृश्य खिच्न लागिएको हो। हङकङमा पल शाह र रिश्ता गुरुङका भावनात्मक तथा नाटकीय दृश्यहरू छायांकन गरिने बताइएको छ। हङकङको छायांकन सकिएपछि फिल्मका केही दृश्य युरोपमा समेत खिचिने निर्देशक पन्तले जानकारी दिएका छन्। हङकङमा हुने छायांकनको व्यवस्थापन खुसी इन्टरटेनमेन्टले गरिरहेको छ।
यसैबीच, फिल्मको प्रचार सामग्रीले भने दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। फिल्मको टिजर र ‘अचेल किन कान्छी’ बोलको गीत सार्वजनिक भइसकेका छन्। विशेषगरी टिजरले युट्युबमा उल्लेख्य दर्शक पाएको छ। बुधबारसम्म टिजरलाई ५० लाखभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ। यो नेपाली फिल्मका टिजरमध्ये अहिलेसम्म सबैभन्दा धेरै भ्यूज पाउने टिजर भएको दाबी गरिएको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पल शाह र रिश्ता गुरुङसँगै विपना थापा, स्वर्गीय प्रदीप रावत, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, निकिता आचार्य, नरेन खड्का, दिलिप अखेडा र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मले आमा र छोराबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ भने वैदेशिक रोजगारीसँग जोडिएका पारिवारिक तथा भावनात्मक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। अब प्रदर्शन मिति नजिकिँदै गर्दा विदेशमा समेत छायांकन जारी रहेको ‘आ बाट आमा २’ ले टिजरमा पाएको दर्शकको उत्साहलाई हलसम्म कत्तिको निरन्तरता दिन्छ भन्ने चासो बढेको छ।