काठमाडौं । युरोपेली मुलुक पोर्चुगलमा नेपालीको संख्या तीव्र गतिमा बढिरहेको छ। पछिल्लो तथ्याङ्कअनुसार पोर्चुगलमा नेपाली आप्रवासीको संख्या पाँचौँ स्थानमा पुगेको छ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान अर्थात् आईएनईका अनुसार सन् २०२५ मा पोर्चुगलमा ५६ हजार ८६६ नेपाली नागरिक रहेका छन्। यो संख्या पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो हो। पोर्चुगलमा नेपालीभन्दा धेरै ब्राजिल, एङ्गोला, भारत र केपभर्डेका नागरिक रहेका छन्। सन् २०२५ मा ब्राजिलका ५ लाख ७४ हजार १९५, एङ्गोलाका १ लाख ३ हजार १४०, भारतका ९३ हजार ६८३ र केपभर्डेका ७६ हजार ९९ नागरिक पोर्चुगलमा रहेको तथ्याङ्कमा उल्लेख छ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार २०२५ मा सूचीकृत नेपालीमध्ये ३८ हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला छन्। यसमा पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने समावेश छैनन्। नेपालीको संख्या बढ्ने क्रम पछिल्ला चार वर्षमा झनै तीव्र देखिएको छ। सन् २०२१ मा पोर्चुगलमा २४ हजार १३ नेपाली रहेकामा २०२५ सम्म आइपुग्दा यो संख्या ५६ हजार ८६६ पुगेको छ। अर्थात् चार वर्षको अवधिमा नेपालीको संख्या १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो।
तथ्याङ्कअनुसार सन् २०२२ मा ३३ हजार १४२, सन् २०२३ मा ४६ हजार ४७९ र सन् २०२४ मा ५५ हजार ५९४ नेपाली पोर्चुगलमा रहेका थिए। सन् २०२१ मा पोर्चुगलमा रहेका आप्रवासीमध्ये नेपालीको संख्या आठौँ स्थानमा थियो। चार वर्षको अवधिमा ३२ हजार ८५३ नेपाली थपिएसँगै नेपाल पाँचौँ ठूलो आप्रवासी समुदाय भएको हो।
सन् २०२५ मा पोर्चुगलमा कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५३९ रहेको छ। त्यसमध्ये नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ। पोर्चुगलमा नेपालीको संख्या उल्लेख्य रूपमा बढेपछि नेपालले समेत कूटनीतिक उपस्थिति विस्तार गरेको छ। नेपाल सरकारले २०८० सालमा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न प्रक्रिया अघि बढाएको थियो। पोर्चुगल सरकारले सोही वर्ष लिस्बनमा नेपाली दूतावास खोल्न स्वीकृति दिएपछि २०८१ सालमा दूतावास स्थापना भएको हो।
नेपालीको संख्या थप बढ्दै गएपछि पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक तथा कन्सुलर उपस्थिति विस्तार गर्न चासो देखाएको छ। पोर्चुगलले यसअघि काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति मागेको थियो। मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो। त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा उच्च तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको बताइएको छ।
यससँगै पोर्चुगलमा बढ्दो नेपाली जनसंख्या दुई देशबीचको श्रम, रोजगारी, कूटनीतिक तथा कन्सुलर सम्बन्ध विस्तारको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ।