काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई आफ्नो प्राविधिक ज्ञान, सीप र अनुभव देश विकासमा प्रयोग गर्न आग्रह गरेका छन्।
बुधबार इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूको काम र सोचको शैलीबारे ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन तहको उदाहरण प्रस्तुत गरेका हुन्। छलफलमा प्रधानमन्त्री शाहले इन्जिनियरहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ भन्दै उनीहरूले कार्यक्रम र मागभन्दा माथि उठेर नयाँ विचार, सिर्जनशीलता र दीर्घकालीन योजनाबारे सोच्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले औद्योगिकीकरणका क्षेत्रमा मुलुकले के गर्न सक्छ भन्ने विषयमा इन्जिनियर सांसदहरूले ठोस योजना र नयाँ अवधारणा दिनुपर्ने बताएका छन्। उनले सांसदहरूले अघि सारेका उपयोगी विचारका लागि प्रधानमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने पनि बताएका थिए। नयाँ विचार लिएर आउने व्यक्तिसँग सहज रूपमा भेटघाट गर्ने वातावरण बनाइने उनको भनाइ थियो।
त्यस क्रममा प्रधानमन्त्री शाहले आगामी दिनमा केही विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताए। सांसदहरूले आफूले देखेको र भोगेको अनुभवका आधारमा कानुन निर्माणमा योगदान गर्नुपर्ने उनको भनाइ थियो। यद्यपि, प्रधानमन्त्रीको सचिवालयले भने शाहले सांसदहरूलाई औपचारिक रूपमा तीन तहमा वर्गीकरण नगरेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले सांसदहरूलाई राजनीतिक गतिविधिमा मात्र सीमित नभई आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत उपयोग गर्दै देश विकासका दीर्घकालीन नीति तथा नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन्। सचिवालयका अनुसार निर्वाचन वा राजनीतिक गतिविधिका क्रममा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि सांसदहरू नीति निर्माण गर्ने स्थानमा रहेकाले आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड थियो।
प्रधानमन्त्री शाहले इन्जिनियर सांसदहरूलाई सम्बोधन गर्दै उनीहरू प्राविधिक विषयमा जानकार हुनुका साथै नीति निर्माण गर्ने स्थानमा रहेकाले देश विकासमा आफ्नो विज्ञताको प्रभावकारी प्रयोग गर्न आग्रह गरेका छन्।