काठमाडौं । विश्वभरका चर्चित एक्सन स्टार तथा मार्सल आर्ट्सका महान् कलाकार ज्याकी च्यानको मृत्यु भएको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि उनका करोडौँ प्रशंसक केही समय स्तब्ध बने । तर, सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको यो खबर वास्तविक भने थिएन ।
७२ वर्षीय ज्याकी च्यान जीवितै छन् र सार्वजनिक तथा मनोरञ्जनसम्बन्धी गतिविधिमा सक्रिय छन् । च्यानको मृत्यु भएको दाबी गर्दै विभिन्न सामाजिक सञ्जालमा पोस्टहरू फैलिन थालेपछि केही घण्टामै यो विषय विश्वभर चर्चाको विषय बन्यो । विशेषगरी च्यानको ब्ल्याक एन्ड ह्वाइट तस्वीरमा ‘१९५४-२०२६’ लेखिएको एउटा तस्वीर भाइरल भएपछि उनको मृत्यु भएको दाबीले थप गति लिएको थियो ।
एउटा भाइरल पोस्टले मात्रै केही घण्टामा ७० लाखभन्दा बढी भ्युज पाएपछि हल्ला झनै तीव्र बनेको थियो । पोस्टमा च्यानको उमेर र लामो फिल्मी करिअरलाई जोड्दै भ्रामक क्याप्सन राखिएको थियो । तर, तथ्य जाँच गर्ने प्लेटफर्म तथा सामाजिक सञ्जालका कम्युनिटी नोट्समार्फत उक्त दाबी गलत रहेको स्पष्ट पारियो । च्यानको मृत्यु भएको कुनै विश्वसनीय आधिकारिक पुष्टि नभएको र उनी जीवितै रहेको तथ्य सार्वजनिक भयो ।
त्यसअघि नै सामाजिक सञ्जालमा हजारौँ प्रशंसकले च्यानका चर्चित चलचित्र, एक्सन दृश्य र मार्सल आर्ट्समा उनको योगदान सम्झिँदै श्रद्धाञ्जलीसमेत दिन थालेका थिए । तर मृत्युको खबर गलत रहेको पुष्टि भएपछि उनका प्रशंसकले राहत व्यक्त गरेका छन् । साथै, प्रमाण नखोजी मृत्युको खबरजस्तो संवेदनशील सूचना फैलाइएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भएको छ ।
ज्याकी च्यान पछिल्लो समय पनि सार्वजनिक गतिविधिमा सक्रिय छन् । उनी हालै सिंगापुरमा आयोजित एक कार्यक्रममा देखिएका थिए, जहाँ उनले पेइ चुन पब्लिक स्कुलको भ्रमण गरी विद्यार्थी तथा कर्मचारीसँग भेटघाट गरेका थिए । हङकङ र हलिउड दुवै क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि सक्रिय च्यान विश्वकै चर्चित एक्सन अभिनेता तथा मार्सल आर्ट्स कलाकारमध्ये एक हुन् ।
यो घटनाले सामाजिक सञ्जालमा कुनै चर्चित व्यक्तिको मृत्युको खबर भाइरल हुँदैमा त्यसलाई सत्य मान्न नहुने र आधिकारिक तथा विश्वसनीय स्रोतबाट पुष्टि गर्नुपर्ने तथ्य फेरि एकपटक देखाएको छ ।