काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शिविर छाडेका छन्।
डेनमार्कविरुद्ध हुने नेसन्स लिगको खेलअघि रोनाल्डोले टोलीको प्रशिक्षण शिविर छाडेपछि पोर्चुगिज फुटबलमा नयाँ चर्चा सुरु भएको छ।
पोर्चुगलका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई सुरुवाती टोलीमा नराख्ने जानकारी खेलअघि नै दिइएको थियो। आवश्यक परे दोस्रो हाफमा मैदान प्रवेश गराउने योजना रहे पनि पछि उनलाई खेलाउने निर्णय नभएको जेसुसले बताएका छन्।
नर्वेविरुद्धको खेलमा पोर्चुगल २-१ ले विजयी भएको थियो। उक्त खेलमा रोनाल्डो मैदानमा उत्रिएनन्। खेलपछि उनी अन्य खेलाडीसँग दर्शकतर्फ जानुको सट्टा सिधै खेलाडी परिवर्तन कक्षतर्फ गएको बताइएको छ। यसबीच रोनाल्डोले मंगलबारको प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार पनि सार्वजनिक भएको थियो। तर प्रशिक्षक जेसुसले भने रोनाल्डोले छुट्टै शारीरिक अभ्यास गर्नुपर्ने भएकाले अलग प्रशिक्षण गरेको बताएका थिए।
तर बुधबार पोर्चुगलको टोली डेनमार्कमा प्रशिक्षण गरिरहेका बेला रोनाल्डो सहकर्मीसँग देखिएनन्। त्यसपछि पोर्चुगिज सञ्चारमाध्यममा उनी टोलीका कर्मचारीसँगै प्रशिक्षणस्थलबाट बाहिरिएको दृश्य सार्वजनिक भयो। लगत्तै रोनाल्डोले सामाजिक सञ्जालमार्फत प्रशिक्षण शिविर छाडेको जानकारी दिएका छन्। पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि आफूले शिविर छाड्ने निर्णय गरेको उनको भनाइ छ।
शिविर छाड्नुको वास्तविक कारण भने उनले तत्काल सार्वजनिक गरेका छैनन्। उनले उचित समय आएपछि पोर्चुगलका नागरिकलाई आफूले टोली छाड्नुको कारणबारे सत्य बताउने उल्लेख गरेका छन्। साथै, उनले आगामी खेलका लागि आफ्ना सहकर्मीलाई शुभकामना दिएका छन्।
रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोच बनाएको भए पनि आफ्नो करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण राष्ट्रिय टोलीमा निरन्तरता दिने निर्णय गरेका थिए। यसैबीच, पोर्चुगलका प्रशिक्षक जेसुसले नर्वेविरुद्ध निर्णायक गोल गरेका गोन्कालो रामोसलाई डेनमार्कविरुद्ध पनि प्राथमिकता दिन सक्ने संकेत गरेका छन्। उनले आवश्यकता परे रोनाल्डोलाई मैदानमा उतार्ने र आवश्यकता नपरे नखेलाउने बताएका छन्।
पोर्चुगल फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ। महासंघका अनुसार डेनमार्क र नर्वेविरुद्धका खेलका लागि बाँकी २४ खेलाडीले पूर्वनिर्धारित योजनाअनुसार तयारीलाई निरन्तरता दिनेछन्। यता रोनाल्डोकी बहिनी एल्मा एभेइरोले सामाजिक सञ्जालमा रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने प्रतिक्रिया दिएकी छन्। उनले राष्ट्रिय टोलीको संरचना र पोर्चुगिज सञ्चारमाध्यमको भूमिकामाथि समेत टिप्पणी गरेकी छन्।
यससँगै रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाड्नुको वास्तविक कारणबारे भने उनको आगामी अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ।