काठमाडौं । आइतबार (भोलि) हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने भएका हुन्।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।
प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र २२ जना अन्य मतदाता छन् ।
मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् । कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् ।
गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् ।
यस्तै, नेपालकै कम मतदाता रहेको कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् ।