काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । दुबईको आईसीसी एकेडेमीमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ४० रनको लक्ष्य कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि कप्तान मित भाब्सरले अविजित रहदै १ सय ७५ रनको शतकीय इनिङ्स खेले । जुड साल्दन्हाले २५ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका गुलशन झाले ३ विकेट लिए । शेर मल्ल, बसिर अहमेद र विवेक यादवले २र२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । नेपालका लागि बसिर अहमेद र विवेक मगरले अर्धशतकीय इनिङ्स खेले । अहमेदले ५६ रनको इनिङ्स खेल्दा विवेकले ५० रन बनाए ।
यस्तै मोहमद आदील आलमले ४९ तथा शेर मल्लले २१ रन बनाए । अर्जुन साउद १०, गुलशन झा ७, देव खनाल ५, सन्तोष कार्की ५ तथा विवेक यादव सुन्य रनमा आउट भए ।
दिपेश कँडेल १५ रनमा आउट हुँदा र प्रकाश जैशी ५ रनमा अविजित रहे । कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले ३र३ तथा हेनरी थोमस र मोहमद बासटाकीले २र२ विकेट लिए । यस हारसँगै समूह 'बी' को नेपाल अंकविहीन रहदै समूह चरणबाट बाहिरिएको छ ।
नेपाल समूहको पुछारमा रह्यो । कुवेतले भने सान्त्वना जित निकालेको छ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो।
यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएका छन् ।