काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाँच मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका हुन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट दुई मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गरेका थिए ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले ५–५ र सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबीच ४ मन्त्रालयको भागबण्डा छ । मुख्यमन्त्री पाण्डेले माओवादीबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दहाल, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का र युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाललाई नियुक्त गरेका छन् । यस्तै, एकीकृत समाजवादीबाट खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंन्छी विकासमन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त भएका छन् ।
मुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्रालय विभाजन गरेर युवा तथा खेलकुद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर श्रम रोजगार तथा यातायात मन्त्रालय बनाएका थिए । यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरेर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपन्छी विकास मन्त्रालय बनाइएको थियो । बागमतीमा कुल १४ वटा मन्त्रालय छन् । जसमध्ये मंगलबार सरकार विस्तार भएसँगै अब ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
मुख्यमन्त्री पाण्डेले ११ कात्तिकमा मुख्यमन्त्रीमा शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीका कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, कांग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकासमन्त्री र माओवादीकी कुमारी मोक्तानलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका थिए। पाण्डेले दोस्रो चरणमा माओवादी केन्द्र बागमतीको संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा कानुनमन्त्री, कांग्रेसका निमा लामालाई स्वास्थ्यमन्त्री बनाएका थिए ।
मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । तर, कांग्रेसको महाधिवेशनका कारण मन्त्री नियुक्त भएनन् । कांग्रेसले महाधिवेशनको चटारोमा सरकार विस्तार नगर्न आग्रह गरेका कारण २३ मंसिरमा हुन लागेको सरकार विस्तार २८ गतेलाई सारिएको थियो। महाधिवेशनपछि कांग्रेसबाट थप ३ जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गर्ने तयारी रहेको जनाइएको छ।