काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओरको सन् २०२६ को मनोनयन सार्वजनिक भएको छ ।
आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको पुरुषतर्फको ३० सदस्यीय सूचीमा विश्व फुटबलका ठूला स्टारहरू समेटिएका छन् । सूचीमा लियोनल मेसी, ह्यारी केन, एर्लिङ हालान्ड, किलियन एमबाप्पे, जुड बेलिंगहम, औसमाने डेम्बेले, लामिने यामल र रोड्रीलगायत खेलाडी रहेका छन् ।
यसपटकको मनोनयनमा सबैभन्दा बढी चर्चा भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिको भइरहेको छ । साउदी प्रो लिग क्लब अल-नासरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो ३० सदस्यीय सूचीमा पर्न सकेनन् । उनका अल-नासर सहकर्मी सादियो माने भने मनोनयनमा परेका छन् ।
यता आठपटकका बालोन डी’ओर विजेता लियोनल मेसी फेरि उत्कृष्ट खेलाडीको दौडमा छन् । इन्टर मियामी र अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका मेसीले ४९ खेलमा ७५ गोलमा योगदान दिएका छन् । अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याउन उनको महत्वपूर्ण भूमिका थियो ।
इंग्ल्याण्डका कप्तान ह्यारी केन पनि यसपटकका प्रमुख दाबेदारमध्ये एक हुन् । उनले बायर्न म्युनिख र इंग्ल्याण्डका लागि ६५ खेलमा ७३ गोल गरेका छन् । केनको उत्कृष्ट प्रदर्शनमा बायर्नले बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कप जित्दै घरेलु त्रिमुकुट पूरा गरेको थियो ।
त्यस्तै, म्यानचेस्टर सिटी तथा नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले ६४ खेलमा ५८ गोल गरेका छन् । फ्रान्सका किलियन एमबाप्पे, स्पेनका लामिने यामल, जुड बेलिंगहम, औसमाने डेम्बेले, रोड्री, भिनिसियस जुनियर, अच्राफ हाकिमी, ब्रुनो फर्नान्डेस र भिटिन्हाजस्ता खेलाडी पनि अन्तिम ३० मा छन् ।
तर केही चर्चित नाम भने यसपटक सूचीबाट बाहिरिएका छन् । आर्सनलका मार्टिन ओडेगार्ड, बार्सिलोनाका राफिन्हा, एट्लेटिको मड्रिडका जुलियन अल्भारेज, चेल्सीका इन्जो फर्नान्डेस, बार्सिलोनाका पेड्री र पीएसजीका देसिरे डोउ मनोनयनमा पर्न सकेनन् ।
विशेषगरी राफिन्हा, ओडेगार्ड र जुलियन अल्भारेजको अनुपस्थितिलाई आश्चर्यका रूपमा हेरिएको छ । यस वर्षको बालोन डी’ओरको ७०औँ संस्करण आयोजना हुँदैछ । पहिलो बालोन डी’ओर विजेता स्टेनली म्याथ्युजको सम्मानमा अक्टोबर २६ मा पहिलोपटक लन्डनमा विशेष समारोह आयोजना गरिने भएको छ ।
पुरुष बालोन डी’ओरसँगै गोलकिपर अफ द इयर, कोच अफ द इयर, क्लब अफ द इयर तथा युवा खेलाडीका विधामा पनि मनोनयन सार्वजनिक गरिएको छ । कोच अफ द इयरका लागि लुइस एनरिक, भिन्सेन्ट कोम्पानी, मिकेल आर्टेटा, लुइस डे ला फुएन्ते र उनाइ एमरी मनोनयनमा छन् ।
क्लब अफ द इयरतर्फ पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख, आर्सनल, फ्लेमेङ्गो र बोडो दाबेदार छन् । युवा प्रतिभातर्फ लामिने यामल, पाउ कुबर्सी र वारेन जाइरे-इएमरीलगायत खेलाडी मनोनयनमा परेका छन् । महिला बालोन डी’ओरको सूची पनि सार्वजनिक गरिएको छ । जसमा इभा पाजोर, एलेक्सिया पुटेल्लास, खाडिजा ‘बनी’ शा र आलेसिया रुसोलगायत खेलाडी रहेका छन् ।
अब सन् २०२६ को बालोन डी’ओरको मुख्य प्रतिस्पर्धामा अनुभवी स्टार लियोनल मेसीदेखि नयाँ पुस्ताका लामिने यामलसम्मका खेलाडीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर अन्तिम बाजी कसले मार्छ भन्ने निर्णय भने अक्टोबर २६ मा लन्डनमा हुने विशेष समारोहपछि मात्र हुनेछ ।