काठमाडौं । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच पुनः भिडन्त चर्किएको छ। हुथीको गोलाबारीमा तीन बालबालिकाको मृत्यु भएको यमन सरकारको दाबी छ भने हुथीले साउदी नेतृत्वको गठबन्धनले यमनका विभिन्न क्षेत्रमा व्यापक हवाई हमला गरेको आरोप लगाएको छ।
मध्य यमनको मारिब प्रान्तमा हुथीले गरेको गोलाबारीमा एक शिशुसहित कम्तीमा तीन बालबालिकाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको सरकारी समाचार संस्था सबाले जनाएको छ। पछिल्लो ४८ घण्टामा भएको यो दोस्रो यस्तै आक्रमण भएको सरकारी पक्षको दाबी छ।
यसअघि भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए। हुथी पक्षले भने यी आरोपबारे तत्काल प्रतिक्रिया दिएको छैन। यता हुथीले उत्तरी अल-जौफ प्रान्तस्थित एक कारागारमा साउदी अरबले गरेको भनिएको हवाई हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको र सात जना घाइते भएको दाबी गरेको छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
साउदीमा पनि बढ्यो सुरक्षा सतर्कता
यमनमा चर्किएको द्वन्द्वको असर छिमेकी साउदी अरबमा समेत देखिन थालेको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले हुथीले साउदी अरबका पूर्वाधार र अन्य महत्वपूर्ण संरचनालाई लगातार निशाना बनाइरहेको आरोप लगाएका छन्।
उनका अनुसार खामिस मुशैत, अब्हा र जाजान क्षेत्रमा हुथीले ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोनबाट आक्रमण गरेका थिए। साउदी पक्षले यस्ता आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएको छ। साउदी नागरिक सुरक्षा प्राधिकरणले खामिस मुशैत र अब्हा क्षेत्रमा पटक–पटक सुरक्षा सतर्कता जारी गरेको छ। हालसम्म यी घटनामा भएको मानवीय क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन।
उता हुथीका सैन्य प्रवक्ता याह्या सारीले पछिल्लो १२ घण्टामा साउदी सेनाले यमनका ६ वटा प्रान्तमा ५४ पटक हवाई हमला गरेको दाबी गरेका छन्। अल-जौफ, मारिब, ताइज, होदेइदा, सादा र अल-बैदा क्षेत्रमा ती हमला भएको उनको भनाइ छ। हुथीले साउदी पक्षका आक्रमणको जवाफी कारबाहीस्वरूप अब्हा, नजरान र जिजानस्थित संरचनाहरू तथा खामिस मुशैत एयर बेसलाई निशाना बनाएको दाबी गरेको छ।
सन् २०१४ देखि जारी छ यमनको युद्ध
यमन सन् २०१४ देखि नै द्वन्द्वमा फसेको छ। हुथी विद्रोहीले राजधानी साना नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी अरब नेतृत्वको गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो।
लामो समयसम्म चलेको युद्धमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। संयुक्त राष्ट्रसंघको पहलमा सन् २०२२ मा भएको युद्धविरामले ठूलो स्तरको भिडन्त केही समय रोकिए पनि स्थायी राजनीतिक समाधान भने हुन सकेको छैन।पछिल्लो समय सरकारी सेनाले हुथी नियन्त्रणमा रहेका क्षेत्रमा सैन्य कारबाही बढाएपछि पुनः तनाव चर्किएको हो।
अल-जौफलाई राजधानी सानातर्फ जाने महत्वपूर्ण प्रवेशद्वारका रूपमा हेरिन्छ। सरकारी समर्थित सेनाले उक्त क्षेत्रमा आफ्नो अभियान विस्तार गरेको दाबी गरेको छ भने ताइज र पश्चिमी तटीय क्षेत्रमा पनि हुथीविरुद्ध सैन्य दबाब बढाइएको जनाएको छ।
क्षेत्रीय युद्धको जोखिम
यमनमा पुनः चर्किएको द्वन्द्वले क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि बढेको छ।
पाकिस्तानले साउदी अरबमाथि हुने कुनै पनि नयाँ आक्रमणले हालै भएको मक्का संयुक्त रक्षा सम्झौता सक्रिय हुन सक्ने चेतावनी दिएको छ। साउदी अरब, टर्की र पाकिस्तानबीच भएको उक्त सम्झौताले सम्भावित बाह्य आक्रमणविरुद्ध सामूहिक प्रतिरोध क्षमता बलियो बनाउने लक्ष्य राखेको छ।
यसैबीच इरानले अरब लिगले यमनमा आफ्नो हस्तक्षेप रहेको भन्दै लगाएको आरोप अस्वीकार गरेको छ। इरानले यमनको एकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने आफ्नो धारणा दोहोर्याउँदै संयुक्त राष्ट्रसंघ समर्थित राजनीतिक संवादलाई समर्थन गर्ने जनाएको छ।
यमनको द्वन्द्व फेरि चर्किँदै जाँदा यसको असर यमनमा मात्र सीमित नरहने संकेत देखिएको छ। हुथी र साउदी पक्षबीचको आक्रमण-प्रत्याक्रमण बढ्दै गएमा यसले मध्यपूर्वमा रहेको तनावलाई थप गहिरो बनाउने र क्षेत्रीय शक्तिहरूलाई प्रत्यक्ष रूपमा तान्ने जोखिम बढेको छ।