काठमाडौं । अजय देवगन स्टारर बहुप्रतीक्षित फिल्म ‘दृश्यम स् द कन्क्लूजन’ अर्थात् ‘दृश्यम ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी २ अक्टोबर अर्थात् १६ असोजमा प्रदर्शनमा आउने फिल्मको ट्रेलरले विजय सालगांवकरको कथा यसपटक अझ रहस्यमय र तनावपूर्ण बन्ने संकेत गरेको छ ।
ट्रेलरमा अजय देवगन फेरि विजय सालगांवकरको भूमिकामा देखिएका छन् । अघिल्ला दुई श्रृंखलामा जस्तै यसपटक पनि उनी आफ्नो परिवारलाई संकटबाट जोगाउन संघर्ष गरिरहेका छन् । तर, यसपटक प्रहरीको अनुसन्धान विगतभन्दा निकै बलियो र आक्रामक देखिन्छ ।
आईजी मीरा देशमुखको भूमिकामा तब्बू आफ्नो छोराको हत्याको बदला लिने अठोटमा देखिएकी छन् । यता एसपीको भूमिकामा रहेका जयदीप अहलावतले विजयविरुद्ध अनुसन्धानलाई थप मजबुत बनाउँदै लगेका छन् । ट्रेलरले विजय र प्रहरीबीचको संघर्ष अब निर्णायक मोडमा पुगेको संकेत गर्छ ।
परिवार जोगाउने क्रममा विजयले फेरि कुनै जोखिमपूर्ण योजना बनाएको देखिन्छ । तर, अघिल्ला घटनाहरूको छायाबाट उनी यसपटक उम्किन सक्ने हुन् वा प्रहरीको अनुसन्धानले उनको रहस्य खोल्ने हो भन्ने कौतूहल ट्रेलरले बढाएको छ । फिल्ममा प्रकाश राजको नयाँ प्रवेशले पनि दर्शकको ध्यान खिचेको छ । उनी वकिलको भूमिकामा देखिएका छन् । उनको प्रवेशले विजयको कानुनी लडाइँलाई थप रोचक बनाउने अनुमान गरिएको छ ।
मुम्बईमा बुधबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अजय देवगनले हिन्दी संस्करणको ‘दृश्यम ३’ मलयालम भाषाको मूल ‘दृश्यम ३’भन्दा फरक रहेको बताएका छन् । उनले मोहनलालसहित मूल ‘दृश्यम’ टिमले हिन्दी संस्करण हेरेर मन पराए आफूलाई खुसी लाग्ने बताएका छन् ।
अजयका अनुसार ‘दृश्यम ३’को स्क्रिप्ट अहिलेसम्मकै उत्कृष्ट छ । अभिषेक पाठकको कथा तथा निर्देशनमा बनेको फिल्ममा श्रिया सरन अजयकी श्रीमतीको भूमिकामा छन् । इशिता दत्ता र मृणाल जाधवले क्रमशः अञ्जु र अनुको भूमिका निर्वाह गरेका छन् ।
‘दृश्यम’का अघिल्ला दुई भागले भारतीय बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेका थिए । त्यसैले तेस्रो भागको ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्साह थप बढेको छ ।
अब मुख्य प्रश्न भने यही छ-विजय सालगांवकरले यसपटक पनि आफ्नो परिवारलाई बचाउन सफल हुनेछन्, कि वर्षौँदेखि लुकाउँदै आएको रहस्य अन्ततः प्रहरीको हात लाग्नेछ ?