काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विनाशकारी विपद्लाई राजनीतिक लाभ–हानिको विषय नबनाउन सबै दल र राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशले राष्ट्रिय एकता, सहकार्य र दीर्घकालीन समाधानको आवश्यकता महसुस गरिरहेको बताए।
“कहालीलाग्दो विपद् र विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ, विपद्लाई अवसर बनाएर एकआपसमा आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भनेर राजनीतिक खेल खेल्ने,” संसद्मा बोल्दै लामिछानेले भने, “यो राजनीतिको रोटी सेक्ने समय हुँदै होइन।”
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको स्मरण गर्दै उनले विपद्का बेला सरकार, प्रतिपक्ष र सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले विपद्लाई राजनीतिक प्रतिस्पर्धाको विषय बनाउनु पीडितप्रति अन्याय हुने धारणा व्यक्त गरे।
लामिछानेले बाढीपछिको भोलिपल्ट नै आफ्नै पहलमा सर्वदलीय बैठक आयोजना गरिएको उल्लेख गर्दै उक्त बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा, जनमत पार्टी लगायत दलका शीर्ष नेताहरू सहभागी भएको जानकारी दिए। बैठकले विपद् व्यवस्थापन, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि १० बुँदे संकल्प पारित गरेको थियो।
संकल्पपत्रको १० नम्बर बुँदामा विपद् व्यवस्थापन, पुनर्निर्माण, जलवायु अनुकूलन र राष्ट्रिय विपद् नीतिमा सुधारका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्ताव समावेश गरिएको छ। यस संयन्त्रले सरकारलाई निरन्तर सुझाव, सहयोग र अनुगमन गर्ने तथा विपद् पूर्वतयारीदेखि दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्ने अपेक्षा गरिएको छ।
संसद्मा बोल्दै लामिछानेले विपद्का बेला राजनीतिक आरोप-प्रत्यारोपभन्दा माथि उठेर नागरिकको जीवन रक्षा, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले राष्ट्रिय संकटका बेला सबै पक्षबीच सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको भन्दै विपद्लाई राजनीतिक फाइदाको माध्यम बनाउने प्रवृत्तिबाट टाढा रहन सबैलाई आग्रह गरे।
रसुवा बाढीपछि देशले भोगिरहेको संकटका बीच रवि लामिछानेको यो अभिव्यक्तिलाई विपद्माथि राजनीति नगरी राष्ट्रिय एकताको पक्षमा गरिएको सन्देशका रूपमा हेरिएको छ।