काठमाडौं । लोकगायक प्रकाश दूतराजको नयाँ सांगीतिक यात्रा अब औपचारिक रूपमा सुरु हुने भएको छ। भोटेकोशी बाढीका कारण स्थगित भएको उनको ब्यान्ड कन्सर्ट आगामी शनिबार म्याग्दीको बेनीस्थित खुलामञ्चमा हुने भएको हो।
यसअघि भदौ १२ गतेका लागि तय गरिएको कन्सर्ट बाढीपछिको असहज परिस्थितिका कारण स्थगित गरिएको थियो। अब भदौ २७ गते शनिबार साँझ प्रकाश दूतराज आफ्नै ब्यान्डसहित बेनीको खुलामञ्चमा प्रस्तुत हुँदैछन्। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा प्रकाशले पहिलोपटक आफ्नो नेतृत्वमा तयार भएको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति दिनेछन्।
लोकसंगीतसँगै विभिन्न सांगीतिक विधाका वाद्यवादकलाई समेटेर तयार पारिएको यो ब्यान्डमार्फत प्रकाशले अब ट्रयाकमा आधारित प्रस्तुतिभन्दा प्रत्यक्ष वाद्यवादनलाई प्राथमिकता दिने तयारी गरेका छन्। करिब १३-१४ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रकाशले आफ्नो लामो समयदेखिको सपनालाई नयाँ अभ्यासमार्फत अघि बढाउन लागेको बताएका छन्।
उनका लागि म्याग्दीबाटै पहिलो कन्सर्ट गर्नु अझ विशेष बनेको छ। आफूलाई पहिलोपटक स्टेजमा गाउने अवसर दिएको म्याग्दी उद्योग वाणिज्य संघकै आयोजनामा नयाँ सांगीतिक अध्याय सुरु गर्न पाउँदा उनी उत्साहित छन्।लोकदोहोरी तथा लोकसंगीतमा ब्यान्डसहित प्रत्यक्ष कन्सर्ट गर्ने अभ्यास नेपालमा अझै नयाँ भएकाले प्रकाशले यसलाई नेपाली लोकसंगीतमा नयाँ प्रयोगका रूपमा लिएका छन्।
सबैभन्दा महत्वपूर्ण कुरा, कन्सर्टमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ। बेनीबाट सुरु हुने यो सांगीतिक यात्रालाई नेपालका विभिन्न सहरसम्म पुर्याउने प्रकाशको तयारी छ। त्यसपछि अन्तर्राष्ट्रिय सांगीतिक यात्रासमेत गर्ने योजना उनले अघि सारेका छन्।
‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’ र ‘मनमाया’ लगायतका मौलिक गीतमार्फत छुट्टै पहिचान बनाएका प्रकाश दूतराजका लागि ‘दूतराज प्रकाश एन्ड लाइनअप’ केवल एउटा ब्यान्ड होइन, लामो समयदेखि देखेको सपनालाई प्रत्यक्ष संगीतमार्फत श्रोतासामु पुर्याउने नयाँ अध्यायसमेत बनेको छ।
अब शनिबार बेनीको खुलामञ्चमा गुञ्जिने प्रत्यक्ष बाजा र प्रकाश दूतराजको आवाजले नेपाली लोकसंगीतमा कस्तो नयाँ स्वाद थप्छ, त्यसको प्रतीक्षा संगीतप्रेमीहरूले गरिरहेका छन्।