काठमाडौं । अभिनेता तथा डान्सर बिजु पार्कीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनले फिल्म ‘अन्तिम दाउ’मार्फत निर्देशनमा पाइला चाल्न लागेका हुन्।
मंगलबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मबारे जानकारी दिएको हो। फिल्मको औपचारिक घोषणा भने यसअघि भदौ १० गते नै गरिएको थियो। तर, बाढीका कारण फर्स्टलुक पोस्टर सार्वजनिक गर्ने कार्यक्रम रोकिएको थियो।
सार्वजनिक पोस्टरमा फिल्मका ६ मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ। विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामाको अनुहारमा चोट तथा रगत देखिन्छ। पोस्टरको दुवै छेउमा रहेका कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी शैलीमा मुस्कुराइरहेका छन्। पोस्टरको प्रस्तुतिले फिल्म अपराध र बदलाको कथामा केन्द्रित रहेको संकेत गर्छ। यद्यपि, कथावस्तु र पात्रबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
फ्रेम इन मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा सह-निर्माताका रूपमा छन्। रमेश शाही ठकुरी र शिशिर पार्की कार्यकारी निर्माता रहेका छन्। फिल्ममा संगम राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, राजु डोङको द्वन्द्व निर्देशन, ज्योति केसीको कस्ट्युम डिजाइन तथा सज्जल लोप्चनको भिएफएक्स रहनेछ।
‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि जितेपछि चर्चामा आएका बिजुले यसअघि ‘वर एन्ड बधु’, वेब सिरिज ‘साहु बा’ तथा ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’को निर्देशनसमेत गरेका थिए।
अभिनय र नृत्यमा स्थापित हुँदै आएका बिजु अब भने ‘अन्तिम दाउ’मार्फत निर्देशकको भूमिकामा आफूलाई प्रस्तुत गर्ने तयारीमा छन्।