काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को लिग चरण बिहीबार सकिँदैछ । लिग चरणका अन्तिम तीन खेलसँगै सिधै फाइनल पुग्ने टोली र प्लेअफमा स्थान बनाउने दुई टोलीको टुंगो लाग्नेछ ।
लिग चरणको अन्तिम दिन सहभागी सबै ६ टोलीले आफ्नो अन्तिम खेल खेल्दैछन् । हालसम्मको अंकतालिकाअनुसार अन्नपूर्ण स्पाइकर किङ्स ९ अंकसहित शीर्ष स्थानमा छ । कर्णाली शिवराज र काठमाडौं रेड्सको समान ८ अंक छ भने सगरमाथा स्म्यासर्स ७ अंकसहित चौथो स्थानमा छ ।
मधेश वारियर्स ४ अंकसहित पाँचौं र खप्तड फाल्कन्स अंकविहीन हुँदै छैटौं स्थानमा छन् । मधेश र खप्तडको शीर्ष तीनमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अब शीर्ष तीनमा अन्नपूर्ण, कर्णाली, काठमाडौं र सगरमाथाबीच प्रतिस्पर्धा हुनेछ ।
अन्नपूर्णलाई सिधै फाइनल पुग्ने अवसर
बिहीबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र सगरमाथा स्म्यासर्स दिउँसो १ बजे आमनेसामने हुँदैछन् ।
लगातार तीन खेल जित्दै लयमा रहेको अन्नपूर्णका लागि यो खेल सिधै फाइनल पुग्ने अवसर हो । अन्नपूर्णले सगरमाथालाई सोझो सेटमा वा ३-१ को सेटमा पराजित गरे शीर्ष स्थान सुनिश्चित गर्दै सिधै फाइनल पुग्नेछ ।
तर सगरमाथासँग पराजित भए अन्नपूर्णले प्लेअफको बाटो रोज्नुपर्ने अवस्था आउन सक्छ । पाँच सेटको खेलमा पराजित भए पनि अन्नपूर्णले प्लेअफको सम्भावना कायम राख्नेछ ।
सगरमाथाका लागि ‘गर या मर’
७ अंकसहित चौथो स्थानमा रहेको सगरमाथाका लागि भने अन्नपूर्णविरुद्धको खेल अत्यन्त निर्णायक छ ।
अन्नपूर्णलाई हराउन सके सगरमाथा शीर्ष तीनको होडमा फर्किनेछ । तर पराजित भए सगरमाथाको लिग चरणबाटै बाहिरिनेछ ।
त्यसैले सगरमाथाका लागि बिहीबारको पहिलो खेल नै ‘गर या मर’को अवस्थामा छ ।
कर्णालीलाई जित आवश्यक
दोस्रो खेलमा कर्णाली शिवराज र मधेश वारियर्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ ।
हाल ८ अंकसहित दोस्रो स्थानमा रहेको कर्णालीले मधेशलाई हराए ११ अंकमा पुग्नेछ । त्यसपछि उसको फाइनल तथा प्लेअफ समीकरण पहिलो खेलमा अन्नपूर्ण-सगरमाथाबीचको नतिजामा निर्भर हुनेछ ।
मधेशको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त भइसकेकाले यो खेल कर्णालीका लागि बढी महत्वपूर्ण हुनेछ ।
काठमाडौंको समीकरण अन्तिम खेलअघि नै स्पष्ट हुने
लिग चरणको अन्तिम खेल काठमाडौं रेड्स र खप्तड फाल्कन्सबीच साँझ ७ बजे हुनेछ । काठमाडौंसँग अहिले ८ अंक छ । त्यसैले उसले अन्तिम खेल खेल्नुअघि नै अन्नपूर्ण-सगरमाथा र कर्णाली-मधेशबीचका खेलको नतिजा थाहा पाइसक्नेछ ।
यदि अन्नपूर्णले सगरमाथालाई हरायो भने काठमाडौं शीर्ष तीनमा स्थान सुरक्षित गर्दै प्लेअफमा पुग्नेछ । तर अन्नपूर्ण र कर्णाली दुवै पराजित भए काठमाडौंसँग खप्तडलाई हराएर शीर्ष स्थानमा पुग्दै सिधै फाइनलमा स्थान बनाउने अवसर खुल्नेछ ।
यसरी बिहीबार हुने तीन खेलले एनभीएलको लिग चरणको अन्तिम तस्वीर मात्र स्पष्ट पार्ने छैन, उपाधि दौडमा कुन टोली सिधै फाइनल पुग्ने र कुन दुई टोलीले प्लेअफबाट फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भन्ने पनि निर्धारण गर्नेछ ।
अब सबैको नजर पहिलो खेलमा अन्नपूर्ण र सगरमाथाबीच हुने निर्णायक भिडन्तमा छ ।