काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिको मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा विरोध गरेका छन् । उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै गृहमन्त्री गुरुङलाई आफ्ना आपत्तिजनक शब्द तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, शोभाकर बुढाथोकी, सोम निरौला, महिला अधिकारकर्मी श्यामकुमारी साह र युवा अभियन्ता अभिषेक अधिकारीले संयुक्त रूपमा वक्तव्य जारी गर्दै गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
गृहमन्त्री गुरुङले २३ भदौमा दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको र विशेषगरी पत्रकारविरुद्ध प्रयोग गरिएका धम्कीपूर्ण शब्दले आफूहरू गम्भीर रूपमा चिन्तित भएको उनीहरूको भनाइ छ । शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने र विपद् व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी बोकेको गृह मन्त्रालयको नेतृत्वमा रहेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले शासन प्रणालीकै गरिमा घटाउने अधिकारकर्मीहरूको दाबी छ ।
वक्तव्यमा गृहमन्त्री गुरुङको चयन तथा उनीमाथि लागेका आरोपमाथि भएको भनिएको अनुसन्धानप्रति समेत प्रश्न उठाइएको छ । यही पृष्ठभूमिमा आम पत्रकारप्रति गृहमन्त्रीको आक्रामक अभिव्यक्तिले उनले आफ्नो पदको मर्यादा, संयम र गाम्भीर्य नबुझेको अनुभूति भएको उनीहरूले बताएका छन् ।
पत्रकारको काम प्रश्न गर्नु हो स् अधिकारकर्मी
अधिकारकर्मीहरूले पत्रकारको प्राथमिक दायित्व राज्यसंयन्त्रमा रहेका जिम्मेवार व्यक्तिलाई प्रश्न गर्नु र उनीहरूलाई जवाफदेही बनाउनु रहेको स्मरण गराएका छन् ।
नेपाली सञ्चारजगत्ले पञ्चायतकालदेखि नै विभिन्न राजनीतिक तथा सामाजिक संकटका बीच आफ्नो भूमिका निर्वाह गर्दै आएको उनीहरूको भनाइ छ ।
पञ्चायतविरोधी आन्दोलनदेखि सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्डपछिको अन्योल, ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्धको आन्दोलन तथा संविधान निर्माणको प्रक्रियासम्म सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूले उल्लेख गरेका छन् ।
‘धम्कीबाट पत्रकार हतोत्साही हुँदैनन्’
अधिकारकर्मीहरूले राज्यका जिम्मेवार पदाधिकारीबाट आउने धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरूलाई आफ्नो जिम्मेवारीबाट पछि हटाउन नसक्ने बताएका छन् ।
विगतमा सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगीजस्ता विषयमा पत्रकारहरूले तथ्य सार्वजनिक गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनीहरूले यस्ता धम्कीबाट सञ्चारकर्मीहरू हतोत्साही नहुने बताएका छन् । साथै, अधिकारकर्मीहरूले सञ्चारकर्मीहरूलाई पत्रकारिता आचारसंहिताको दायराभित्र रहेर जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
गृहमन्त्री गुरुङलाई भने पत्रकारविरुद्ध प्रयोग गरेका आपत्तिजनक शब्द तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्न उनीहरूले पुनः आग्रह गरेका छन् ।