काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा सभामुखको भूमिका खेलको अम्प्यायर जस्तो भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए।
उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए। संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए । उनले भने– ‘मुख्यत्: यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ। सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो। जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ ।
हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौं । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ ।’ सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत् नभएको बताए। उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।
उनले भने– ‘उहाँहरुले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लंग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरी त्यही गर्न म प्रतिबद्ध छु।’ भोलिदेखि संसद् अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका हुन् ।
संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण भइरहेको पनि जानकारी दिएको छ।