जुम्ला। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताएकी छिन् । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आइतबार जुम्ला पुगेकी राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताइन् ।
‘हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ’, उनले भनिन्, ‘प्राचीनकालदेखि खस सभ्यताको आधार भूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिञ्जा सभ्यता विकास गरेको छ जसले विश्वसामू हाम्रो मौलिकता प्रवर्द्धन गरिरहेको छ।’ गौरवशाली इतिहास बोकेको कर्णालीलाई थप प्रसिद्ध बनाउन प्रतिष्ठानको ठूलो भूमिका रहने उनको भनाइ थियो । मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायी रुपमा पछि परे पनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार सम्भावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको दाबी थियो ।
उनले भनिन्, ‘कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजित जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महँगोमा किन्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडीबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ।’ उनले पहाडी भेकको जुम्ली मार्सी धानको उत्पादनमा जोड दिन आग्रह गरिन् । चन्दननाथ ब्रान्ड पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएकाले जुम्ली मार्सी धान उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाई ज्ञापन गरिन्। उनले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पुर्याउने कर्णालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई हार्दिक धन्यवादका साथै बधाई ज्ञापन गरेको थियो । राष्ट्रपति भण्डारीले रु ७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको पनि शिलन्यास गरेकी थिइन् ।