काठमाडौं । ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलको पहिलो हाफमा एपीएफविरुद्ध आक्रमक खेल प्रदर्शन गरेपनि तालमेलको कमी र फितलो प्रहारका कारण च्यासलले अग्रता लिन सकेन। यता, बढी रक्षात्मक देखिएको एपीएफले पनि पहिलो हाफमा पाएको केही सुनौलो मौकालाई सदुपयोग गर्न भने सकेन ।
च्यासलले दोस्रो हाफमा बढी नै रक्षात्मक भएपनि एपीएफको डिफेन्सलाई चिर्दै गोल गर्न सफल भयो । उसका लागि रमेश बर्तौलाले गरेको एक मात्रै गोल महत्त्वर्ण ३ अंक दिलाउन पर्याप्त बन्यो । योसँगै यसअगाडि उपाधि दाबेदार थ्रीस्टार क्लबसँग ३–० गोल अन्तरले पराजित भएको च्यासलले अंक तालिकामा ३ अंक जोडेको छ ।
यता, एपीएफले भने लगातार पराजय भोगेको छ । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
खेलको १०औं मिनेटमा च्यासलका मिडफिल्डर रुमेश बर्तौलाले एपीएफका डिफेन्डर मानबहादुर राना मगरलाई ‘फउल’ गरेपछि पहेंलो कार्ड पाएका थिए । उडेको बललाई हेडर गर्न लाग्दा रुमेशले सिधै मानबहादुरको अनुहारमा टाउकाले प्रहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले कार्ड देखाएका थिए ।
यस्तै, १३औं मिनेटमा मानबहादुरले पनि पहेंलो कार्डको सामना गरे । उनले च्यासलका डिफेन्डरलाई खराब ‘ट्याकल’ गर्दै लडाएपछि उनलाई पनि रेफ्रीले कार्ड देखाए ।
१७औं मिनेटमा च्यासलले अग्रता लिने मौका खेर फ्याल्यो । उसका मिडफिल्डर अजित गुरुङले डिबक्स बाहिरबाट गरेको फितलो प्रहार एपीएफका गोलरक्षक राज योगीले ‘ड्राइभ’ गर्दै बचाए ।
यस्तै, २४औं मिनेटमा एपीएफले अर्को सुवर्ण मौका खेर फाल्यो। च्यासलका अभिषेक लिम्बुले एपीएफका मिडफिल्डर नवीन लामालाई लडाएपछि रेफ्री प्रज्वलले फ्रीकिक दिएका थिए । तर, नवीनले करिब २५ यार्डबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्की नजिक पुग्नुअघि नै च्यासलका डिफेन्डरले ‘क्लिएर’ गर्दिए ।
२७औं मिनेटमा पुनः अर्को मौका च्यासलका क्यामरुनका डिफेन्डर केचा यानिकले एपीएफका फरवार्ड आवास लामिछानेलाई ‘फउल’ गरेपछि फ्रीकिक पाएको थियो । तर, नवीनको फ्रीकिकमा श्यामकुमार नेपालीले बनाइदिएको मौकालाई आषिश लामाले बल ‘कनेक्ट’ गरेर हेडर गर्न सकेनन् ।
४१औं मिनेटमा च्यासलले अर्को मौका खेर फाल्यो । कमल श्रेष्ठको कर्नर प्रहारमा ‘अनमार्क’ रहेका इटालियन खेलाडी विकाश मिराग्लियाले बल ‘कनेक्ट’ गरेका थिए । उनको ‘लो हेडर’ एपीएफका डिफेन्डरलाई लागेर आएको बललाई च्यासलका फरवार्ड सुशन लामाले गोलरक्षक राजु ‘बिट’ भइसकेको अवस्थामा प्रहार गरेपनि शनिस श्रेष्ठले ‘क्लियर’ गर्दिए ।
४९औं मिनेटमा च्यासलले अग्रता बनायो। कमल श्रेष्ठले डिबक्स बाहिरबाट दिएको पासलाई बर्तौदलाले एपीएफका डिफेन्डर गणेश बुढाथोकीलाई ‘बिट’ गर्दै प्रहार गरेको बललाई गोलरक्षक राजुले बचाउन सकेनन् ।
५७औं मिनेटमा कमलले दिएको लामो पासलाई केचा यानिकले सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको अतिरिक्त समयमा केचाले मध्यभागबाट गरेको फ्रीकिक प्रहार एपीएफको डिबक्स भित्र प्रवेश गर्न पाएन ।