काठमाडौं । सिजनको सहिद स्मारक ए डिभिजन लिग भोलि शुक्रबादेखि सुरू हुँदैछ। शुक्रबार हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रङ्गशालामा हुने उद्घाटन खेल अपराह्न ४:४५ बजे सुरु हुनेछ। लिगमा १४ क्लबबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये पाँच क्लबले उपाधि जित्ने लक्ष्य बनाएका छन्।
बिहीबार भएको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, थ्रीस्टार, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् । पुलिसका प्रशिक्षक अनन्त थापाले उपाधि जित्नका लागि तयारी गरेको बताए। पुलिसमा युवा खेलाडी भएकाले आश्चर्यजनक नतिजा निकाल्दै लिगको उपाधिका लागि दाबेदारीता प्रस्तुत गर्ने उनको भनाइ छ।
यस्तै आर्मीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आर्मीका सहायक प्रशिक्षक राजु तामाङका अनुसार तयारी राम्रो भएकोले आर्मी यसपटक उपाधिका लागि प्रस्तुत हुनेछ। फरवार्ड नवयुग श्रेष्ठ घाइते भएपछि उनको स्थानमा अरू फरवार्डलाई मौका भएको कप्तान भरत बताए। मच्छिन्द्रको उपाधि रक्षा गर्ने लक्ष्य छ। अघिल्लो संस्करणको अन्तिम खेलमा आर्मीलाई पछि पार्दै उपाधि जितेको मच्छिन्द्रमा स्टार खेलाडी छन्। प्रशिक्षक प्रवेश कटवालले उपाधि जित्न भन्दा रक्षा गर्न गाह्रो हुने बताउँदै अनुभवी खेलाडीबाट अपेक्षा रहेको भनाइ राखे। मनाङ मर्स्याङ्दी क्लब पनि उपाधिका लागि मैदान उत्रनेछ। प्रशिक्षक राजेन्द्र तामाङले छोटो तयारी भए पनि अनुभवी खेलाडी भएकाले राम्रो खेल्ने विश्वास व्यक्त गरे। उनले मनाङको लक्ष्य नवौं पटक लिग जित्ने भएको बताए।
लिगको उपाधि जित्ने अभियानमा थ्रीस्टार पनि छ। थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले च्याम्पियन हुनका लागि तयारी गरेको बताए। फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले क्लबको लक्ष्य सातौंसम्म हुने रहेको बताए। जावलाखेल क्लबले यो सिजन उत्कृष्ट चारभित्र पर्ने लक्ष्य राखेर तयारी गरेको छ। प्रशिक्षक किशोर केसीले टिमको तयारीमा सन्तुष्टि व्यक्त गरे। न्युरोड टिम (एनआरटी) को लक्ष्य पनि उत्कृष्ट चारमा पर्नेछ।
प्रशिक्षक राजुकाजी शाक्यले तयारी छोटो भएको बताए। एपिएफले पनि यो सिजन नतिजामा सुधार ल्याउने लक्ष्य राखेको छ। प्रशिक्षक कुमार थापाले गत सिजन १२औं भएकोमा यो सिजन आठौंसम्म हुने लक्ष्य रहेको बताए। नवप्रवेशी क्लब सातदोबाटोले राम्रो फुटबल खेल्ने लक्ष्य राखेको प्रशिक्षक मेघराज केसीको भनाइ छ। संकटाका प्रशिक्षक विष्णु गुरुङले दैनीकरुपमा लक्ष्य निर्धारण गर्ने बताए। उनले राम्रो फुटबल खेल्ने विश्वास व्यक्त गरे। च्यासल युथ क्लबले यो सिजन सातौं स्थानसम्म हात पार्ने लक्ष्य राखेको छ।
प्रशिक्षक बालगोपाल साहुखलले टिममा युवा खेलाडी रहेको र टिम सेट हुने चरणमा रहेको बताए। ब्रिगेड ब्वाइज क्लब गत सिजन बल्लतल्ल रेलिगेशनबाट जोगिएको थियो। यो सिजन गत संस्करणको भन्दा राम्रो नतिजा हात पार्ने प्रशिक्षक सनोज श्रेष्ठको भनाइ छ। प्रि- लिग पत्रकार सम्मेलनमा हिमालयन शेर्पाका प्रतिनिधि भने उपस्थित भएनन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा हिमालयन शेर्पा क्लबका पनि अध्यक्ष हुन्।