काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ ।
सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न, उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने जनाएको हो ।
’न्यायपालिकाको नेतृत्वमाथि मूलतः प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन आन्दोलनरत् छ भने सर्वोच्च अदालतभित्रका बहुसंख्यक न्यायाधीशहरूले पनि बेन्च वहिष्कार गरेको अवस्था छ । न्यायपालिकामा भएका अनियमितताका सवालहरू सतहमा आएका छन् । यसले सिङ्गो न्यायपालिकाको साख र सम्मानमा आँच आएको छ,’ अपिलमा भनिएको छ, ’यसले मानव अधिकार, न्यायमा पहुँच तथा कानुनको शासन कार्यान्वयनमा थप चुनौती रहेको पुष्टि गरेको छ ।’
सर्वोच्च अदालतमा भइरहेको बेथितिलाई निकास दिनुको साटो सरकार मौन बसेको भन्दै अपिलमा यसले समग्रमा सामान्य नागरिकहरू त्यसमा पनि महिला तथा सीमान्तकृत वर्गको न्यायमा पहूँचको सवाल चुनौति बनेको उल्लेख छ ।
अपिलमा प्रधानन्यायाधीशलगायत भ्रष्टाचारमा संलग्न सबै तहका न्यायाधीश तथा कर्मचारी र विचौलियामाथि पनि छानबिन गर्न माग गरिएको छ । ’हामी नागरिकहरू प्रधानन्यायधीश जबरालगायत न्यायिक भ्रष्टाचारमा संलग्न भएका सबै तहका न्यायधीशहरू, कर्मचारीहरू एवम् विचौलियाहरूमाथि शीघ्र छानबिन गरी कानुनको दायरामा ल्याउन अपिल गर्दछौँ,’ अपिलमा भनिएको छ ।