काठमाडौं । डा. कपिल रिजालको निर्देशनमा बनेको नेपाली फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले व्यावसायिक सफलता हासिल गर्दै शनिबार ५१ दिन मनाउन सफल भएको हो।
फिल्मले ५१ दिन पूरा गर्दा पनि प्रदर्शन जारी राखेको छ। हाल ‘गौँथली’ ४३ वटा हलमा ५९ शोसहित प्रदर्शनरत रहेको निर्माण पक्षले जनाएको छ। यस वर्ष ५१ दिन पूरा गर्ने ‘लालीबजार’पछि ‘गौँथली’ दोस्रो नेपाली फिल्म बनेको छ।
निर्माता सुमन गिरी (भान्जा)का अनुसार फिल्मले शुक्रबारसम्म घरेलु बक्स अफिसमा २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ ग्रस कमाइसकेको छ। यस अवधिसम्म ९ लाख ३५ हजारभन्दा बढी दर्शकले फिल्म हेरेका छन्।
फिल्मको प्रदर्शन अझै उत्साहजनक रहेकाले चालु सातामै यसको कुल कमाइ २६ करोड रुपैयाँ पार गर्ने अपेक्षा गरिएको छ।
‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ। यसले यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको बक्स अफिस रेकर्डलाई पछि पारेको हो।
अब ‘गौँथली’का अगाडि नेपाली फिल्मको घरेलु बक्स अफिसमा सर्वाधिक कमाइको रेकर्ड बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ मात्र रहेको छ। उक्त फिल्मले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ ग्रस कमाएको बताइएको छ।
फिल्मको व्यावसायिक सफलतासँगै निर्माण पक्षले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको छ। भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति भएपछि ‘गौँथली’का निर्देशक र निर्माताले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेका छन्।
केही दिनअघि निर्देशक कपिल रिजाल र निर्माता सुमन गिरीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई बाढी प्रभावितका लागि १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको कथामा आधारित ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिनालगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मले शिक्षाको महत्त्वसँगै श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ। सामाजिक विषयवस्तु र पारिवारिक सम्बन्धलाई प्रस्तुत गरेको फिल्मले लामो प्रदर्शनसँगै बक्स अफिसमा पनि उल्लेखनीय सफलता हासिल गरेको हो।