काठमाडौं । विनाशकारी बाढी-पहिरोबाट प्रभावित नेपालमा राहत, खोज तथा उद्धारका लागि अमेरिकी सहयोग थप विस्तार गर्न ३० जना अमेरिकी कङ्ग्रेस सदस्यले विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्।
अमेरिकी सांसद रो खन्ना, राजा कृष्णमूर्ति, प्रमिला जयपाल, सुहास सुब्रह्मण्यम र रसिदा तलिबलगायतले हस्ताक्षर गरेको पत्रमा नेपालमा जारी विपद्को अवस्था गम्भीर रहेको भन्दै अमेरिकी विदेश मन्त्रालयअन्तर्गत उपलब्ध सबै स्रोतसाधन परिचालन गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन आग्रह गरिएको छ।
सांसदहरूले नेपालका बाढी-पहिरो प्रभावित क्षेत्रमा अमेरिकी आपत्कालीन विपद् सहायता टोली तत्काल परिचालन गर्न माग गरेका छन्। उक्त टोलीमार्फत खोज तथा उद्धार, विपद् व्यवस्थापन र आपत्कालीन चिकित्सा सेवा उपलब्ध गराउन सकिने उनीहरूको भनाइ छ। विशेषगरी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेकाले राष्ट्रिय जियोस्पेसियल इन्टेलिजेन्स एजेन्सी (NGA) र अमेरिकी रक्षा मन्त्रालयसँग समन्वय गर्न सांसदहरूले आग्रह गरेका छन्।
उद्धार कार्यमा आधुनिक प्रविधिको प्रयोग बढाउन पनि उनीहरूले सुझाव दिएका छन्। सांसदहरूले थर्मल तथा इन्फ्रारेड ड्रोन, भू-उपग्रह तस्बिर तथा फोन लोकेसन डेटा उद्धार टोली र स्थानीय निकायसँग तत्काल साझा गर्नुपर्ने बताएका छन्। यस्तो प्रविधिबाट दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी र उद्धारलाई थप प्रभावकारी बनाउन सकिने उनीहरूको धारणा छ।
सांसदहरूको पत्र तत्कालीन राहत र उद्धारमा मात्र सीमित छैन। उनीहरूले बाढी-पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण र दीर्घकालीन पुनरुत्थानका लागि समेत अमेरिकी सहयोगको योजना बनाउन विदेशमन्त्री रुबियोलाई आग्रह गरेका छन्। नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रारम्भिक आँकडा उद्धृत गर्दै सांसदहरूले विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान प्रस्तुत गरेका छन्। यो रकम नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत बराबर हुने उनीहरूको भनाइ छ।
यस्तो ठूलो क्षतिको पुनर्निर्माणका लागि अमेरिकाले दीर्घकालीन तथा ठूलो सहायता प्याकेजको योजना बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। यसैबीच, नेपालमा हराइरहेका अमेरिकी नागरिकको खोजीलाई पनि तीव्र बनाउन सांसदहरूले माग गरेका छन्। अमेरिकी दूतावासको हटलाइनमा थप कर्मचारी परिचालन गरी बेपत्ता अमेरिकी नागरिकका परिवारलाई नियमित तथा दैनिक रूपमा सूचना उपलब्ध गराउन उनीहरूले आग्रह गरेका छन्।
अमेरिकाले यसअघि नै नेपालका बाढी-पहिरो प्रभावितका लागि क्याथोलिक रिलिफ सर्भिसमार्फत ५ लाख अमेरिकी डलर तथा थप ३।६ मिलियन अमेरिकी डलर मानवीय सहायता घोषणा गरिसकेको छ। तर विपद्को व्यापकता र ठूलो जनधनको क्षतिलाई ध्यानमा राख्दै हालसम्मको सहयोग पर्याप्त नभएको संकेत गर्दै अमेरिकी सांसदहरूले राहत तथा उद्धारसँगै पुनर्निर्माणमा समेत अमेरिकाले ठूलो र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपालमा जारी विपद्पछि अन्तर्राष्ट्रिय सहयोग बढिरहेका बेला अमेरिकी सांसदहरूको यो आग्रहले तत्कालीन खोज तथा उद्धारसँगै प्रविधि, आपत्कालीन चिकित्सा सेवा र दीर्घकालीन पुनर्निर्माणमा अमेरिकी संलग्नता थप विस्तार हुन सक्ने संकेत गरेको छ।