काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस’को २०औँ सिजन आज आइतबारदेखि सुरु हुँदैछ। नयाँ सिजनमा बलिउड अभिनेता सलमान खान पुनः होस्टका रूपमा फर्किँदैछन्।
‘बिग बोस २०’ को प्रिमियर एपिसोडमा सलमान खानले यसपटक घर प्रवेश गर्ने प्रतियोगीहरूको परिचय गराउनेछन्। प्रतियोगीको आधिकारिक सूची प्रिमियरबाट सार्वजनिक हुने भए पनि यसअघि नै विभिन्न सेलिब्रिटीको नाम सम्भावित सहभागीका रूपमा चर्चामा छ।
यसपटकको सिजनमा ओलम्पिक पदक विजेता बक्सर मेरी कोम, भोजपुरी अभिनेत्री अम्रपाली दुबे, टेलिभिजन अभिनेत्री माही विज, अभिनेता अमन गान्धी र आसिफ खानलगायतका नाम चर्चामा छन्। नयाँ सिजनलाई थप रोचक बनाउन प्रतियोगीका लागि अतिरिक्त लाइफलाइनको व्यवस्था गरिएको छ। प्रतियोगीहरूले ‘वरदान’ वा ‘जीवनदान’ मध्ये कुनै एक प्राप्त गर्ने अवसर पाउनेछन्। यसले उनीहरूलाई खेलमा अतिरिक्त फाइदा लिन सक्ने अवसर दिनेछ।
कार्यक्रममा रहेको ‘टु एक्स रुम’ ले कुन प्रतियोगीले यस्तो अतिरिक्त अवसर पाउने भन्ने निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। ‘बिग बोस २०’ मा सहभागी हुन सक्ने चर्चित नाममा मेरी कोम पनि रहेकी छन्। ओलम्पिक पदक विजेता तथा पूर्व सांसदसमेत रहेकी मेरी कोमको सम्भावित सहभागिताले यस सिजनलाई विशेष बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री अम्रपाली दुबे पनि सम्भावित प्रतियोगीको सूचीमा छिन्। उनको लोकप्रियता र प्रभावशाली व्यक्तित्वका कारण उनी शोका आकर्षक प्रतियोगीमध्ये एक बन्न सक्ने चर्चा छ। टेलिभिजन अभिनेत्री माही विजको नाम पनि चर्चामा छ। ‘बालिका वधू’ र ‘लागी तुझसे लगन’ जस्ता सिरियलबाट परिचित माही यसअघि ‘नच बलिए ५’ मा पनि सहभागी भइसकेकी छन्।
त्यस्तै अमन गान्धीले ‘क्यूँकि सास भी कभी बहू थी’ र ‘कुमकुम भाग्य’ लगायतका टेलिभिजन शोमा अभिनय गरेका छन्। ओटीटी क्षेत्रमा परिचित आसिफ खानले ‘पञ्चायत’, ‘मिर्जापुर’ र ‘पाताल लोक’ जस्ता चर्चित वेब सिरिजमा काम गरेका छन्। सम्भावित प्रतियोगीको सूचीमा गीता बसरा, कनिका मान, कुशल तन्वर, काजी तौकीर, ईशा रिखी, लभ गिल, उदिति सिंह, तन्मय सिंह, अरिश्फा खान, यङ डीएसए, ऋति तिवारी, रिया अहिर र रोहेड खानलगायतका नाम पनि चर्चामा छन्।
कुशल तन्वर पछिल्ला रियालिटी शोका विजेता भएकाले उनको सहभागितालाई पनि चासोका साथ हेरिएको छ। त्यस्तै गेमिङ तथा लाइभ स्ट्रिमिङ क्षेत्रमा परिचित तन्मय सिंहले ‘बिग बोस’मा प्रवेश गरेमा युवा दर्शकमाझ शोको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
बाल कलाकारका रूपमा टेलिभिजनमा प्रवेश गरेकी अरिश्फा खान अहिले सामाजिक सञ्जालमा चर्चित कन्टेन्ट क्रिएटरका रूपमा परिचित छिन्। स्वतन्त्र र्याप तथा हिपहप क्षेत्रमा सक्रिय यङ डीएसएको नाम पनि सम्भावित प्रतियोगीका रूपमा चर्चामा छ। तर यीमध्ये कति सेलिब्रिटी वास्तवमै ‘बिग बोस २०’ को घरमा प्रवेश गर्छन् भन्ने कुरा भने प्रिमियर एपिसोडपछि मात्र स्पष्ट हुनेछ।
सलमान खानको होस्टिङ, नयाँ लाइफलाइन र सम्भावित रूपमा फरक क्षेत्रका सेलिब्रिटीको सहभागिताले ‘बिग बोस २०’ लाई अघिल्ला सिजनभन्दा अझ प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।