काठमाडौं । विभिन्न उमेर समूहका प्रतियोगितामा सहभागी हुँदै आएका ६२ जना भारतीय क्रिकेट खेलाडी उमेर ढाँटेको आरोपमा कारबाहीमा परेका छन्। बंगाल क्रिकेट संघ तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उमेरसम्बन्धी विवरणमा अनियमितता भेटिएपछि ती खेलाडीमाथि कारबाही गरेको जनाइएको छ।
कारबाहीमा पर्ने खेलाडीमध्ये आईसीसी यू-१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य रवि कुमार र बायाँहाते स्पिन अलराउन्डर विशाल भट्टीसमेत रहेको समाचारमा उल्लेख छ। रवि कुमारले आफ्नो उमेरमा ४५ महिनासम्मको फेरबदल गरेको पाइएको बताइएको छ। उनी यसअघि भारतीय यू-१९ टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भइसकेका थिए।
यसैगरी, उत्तर प्रदेशका क्रिकेटर रोहित यादव पनि उमेर ढाँटेको आरोपमा बीसीसीआईको कारबाहीमा परेका छन्। उनलाई दुई वर्षसम्म प्रतिबन्ध लगाइएको जनाइएको छ। रोहित यसअघि श्रीलंका भ्रमण गरेको भारतीय यू-१९ टोलीमा समेत सहभागी थिए। श्रीलंकाविरुद्धको शृंखलामा उनले ६ विकेट लिएका थिए। त्यसपछि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको यू-१९ टोलीमा समेत उनलाई समावेश गरिएको थियो। तर उमेरसम्बन्धी विवरणमा अनियमितता भेटिएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो।
रोहितको हकमा तीनवटा फरक जन्मदर्ता प्रमाणपत्र फेला परेको बताइएको छ। बंगाल क्रिकेट संघमा सुरुमा बुझाइएको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्म सन् २००७ मा भएको उल्लेख थियो। आधार कार्डमा भने सन् २००६ को जन्ममिति रहेको र सन् २०१९ मा बुझाइएको अर्को प्रमाणपत्रमा सन् २००९ जन्ममिति उल्लेख भएको पाइएको जनाइएको छ।
यस्तै, बंगाल क्रिकेट संघले उमेर ढाँटेको आरोपमा ६२ जना क्रिकेटरमाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने खेलाडीमध्ये पछिल्लो समय विभिन्न प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका खेलाडीसमेत रहेको बताइएको छ। कारबाहीमा परेका खेलाडीहरूले सन् २०२६-२७ र २०२७-२८ का सिजनमा कुनै पनि प्रतियोगिता खेल्न नपाउने जनाइएको छ।
उमेर समूहको क्रिकेटमा खेलाडीको वास्तविक उमेर पहिचान र निष्पक्ष प्रतिस्पर्धा कायम गर्नुपर्ने विषय महत्वपूर्ण मानिन्छ। यही कारण उमेरसम्बन्धी कागजातमा अनियमितता भेटिएपछि सम्बन्धित क्रिकेट संघ तथा बीसीसीआईले कडा कदम चालेका हुन्।