काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ ।
विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले यी तीन पार्टीबीचको एकताको सहमतिपत्रलाई अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । पार्टी एकताको घोषणा कार्यक्रम चाँडै राखिने उनले बताए ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ । रवीन्द्र मिश्र पार्टीको कार्यकारी अध्यक्ष रहनेछन् ।
सिटिजन्स डिसकसन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणको उद्देश्य राखेर डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो ।
त्यस्तै २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको थियो ।
सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना थप हुने भएका छन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना थपिनेछन् । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुने प्रवक्ता पाठकले जानकारी दिए ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा बलियो कदम भएको बताए ।
पाण्डे पक्षको विरोध
आइतबार पार्टीको बैठकले गरेको पार्टी एकीकरणको निर्णयलाई संयोजक मिलन पाण्डे पक्षले भने प्रतिक्रियावादीहरुको गठजोड भनेको छ ।
पाण्डे पक्षले आइतबार बसेको बैठकलाई अवैधानिक भनेको छ । आइतबारको बैठकमा संयोजक पाण्डे, सचिवालय सदस्यहरु प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश दुई संयोजक अनिमेश मिश्र, बागमती प्रदेश संयोजक रन्जु दर्शना, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्टलगायत केन्द्रीय सदस्य अनुपस्थित थिए ।