जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा धार्मिक सद्भाव भड्किएर स्थानीय र प्रहरीबीच झडप भएको छ । देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा तथा मन्दिरको जग्गा अतिक्रमणको विषयमा भएको विवादमा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।
छठ पर्वमा धार्मिक सद्भाव बिग्रिने किसिमले भएको दुई पक्षीय विवादको क्रममा शनिबार केही व्यक्तिको समुहले मोटरसाइकल जुलुशसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा स्थानीय र प्रहरीबीच दोहोरो ढुङ्गा हानाहान भएको धनुषाका प्रहरी उपरीक वसन्त राजौरेले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार छठका दिन भएको दुई पक्षीय झडपको अवस्थालाई नियन्त्रणमा लिइ शान्ति कायम गर्ने दुवै पक्षबाट सम्झौता भए पनि आज पुनः धार्मिक ¥याली सहितको नारा जुलुस गएपछि स्थितिलाई नियन्त्रणमा लिन र दोहोरो झडप हुन नदिन प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।
सोही क्रममा स्थानीयको ढुङ्गा लागेर दुई प्रहरी जवान र एक स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निषेधाज्ञा जारी
हिन्दु मुस्लिम समुदायबीच दुई पक्षीय झडपको स्थितिलाई नियन्त्रणमा लिन जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ । जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा केही व्यक्ति तथा समुदायले सम्रदायिकतामा खलल पुग्ने गरी तथा सद्भाव खलल हुने गरी नारा जुलुस निकालेपछि निषेधाज्ञा जारी गरिएको हो ।
शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
देवपुराको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्बा जाने बाटो र दक्षिणमा निमचोकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिए । त्यहाँ आइतबार राती ११ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।