काठमाडौं । सरकारले बुटवलको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । २४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।
सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
आज मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।
उनले कुश्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्विकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृती दिने निर्णय भएको पनि बताए ।
प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेशल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्विकृत दिने निर्णय समेत भएको जानकारी दिए ।
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताए । सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९०० डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बेठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको हो ।