काठमाडौं । आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले पहिलो अभ्यास खेलमा विजयी भएको छ । नेपाली महिला टोलीले बंगलादेश शिक्षा शिक्षा प्रतिष्ठान(बिकेएसपि) लाई २४ रनले पराजित गरेको छ ।
ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कुल ७२ रन बनाएका थिए । नेपालको लागि कविता जोशीले ३९ बलमा १ चौका सहित सर्वाधिक २३ रनको योगदान दिइन् । ओपनर काजल श्रेष्ठ २० बलमा २ चौका सहित १२ र सीता राना मगर ७ रनमा आउट भएका थिए । यी दुबै ओपनर रन आउट हुन पुगे ।
इन्दु बर्मालाई नेपालले ३ रनमा गुमाएको थियो । कप्तान रुविना क्षेत्री बेलबासे ३३ बलमा १६ रनमा अविजित रहिन् । डली भट्ट शून्य, सरिता मगर २ र कविता कुँवरले १ रन बनाए । बंगलादेशकी दीक्षाले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् ।
जितका लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको बिकेएसपी १७.१ ओभरमा ४८ रनमा अल आउट भयो । उनको ओपनर लिसाले ३५ बलमा २ चौका सहित सर्वाधिक २५ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाली स्पिनर संगिता राईले सर्वाधिक ४ विकेट लिइन् । सरस्वती चौधरी, रुविना र सीता र कविता कुँवरले एक एक विकेट लिए ।
नेपाली महिला टोली एक हप्ताको बंगलादेशमा रहनेछ । नेपाली महिला टोलीले थप तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली महिला टोली कतार भ्रमणमा जानेछन् । नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने छ । एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।