काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसको तर्फबाट बाँकी मन्त्रालयमा डा. मीनेन्द्र रिजाल, दीलेन्द्र बडू, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । स्रोतका अनुसार रिजाल रक्षामन्त्री बन्ने टुंगो लागेको छ भने बडू कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने तय भएको छ । उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिन लागिएको हो ।
कृष्ण सिटौला समूहबाट मन्त्री बन्न लागेका उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिन लागिएको हो । अहिले कानून मन्त्रीको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा पठाउन लागिएको कांग्रेस स्रोतले बतायो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राज्यमन्त्री पद भने धरापमा परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीका मन्त्री समावेश गरेर आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए । देउवाले प्रधानमन्त्रीको शपथ लिएको ८७ दिन पुगेको छ ।