काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराका लागि मन्त्री पद भाग नलगाइएको बताएका छन् । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार गलत रहेको पनि उनले बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको जिज्ञासामा उनले यस्तो भनेका हुन् ।
'मन्त्रिपरिषद्मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग किन नलगाएको?', सुवालले सोधेका थिए। त्यसपछि जवाफका क्रममा कार्कीले उक्त कुरामा कुनै सत्यता नरहेको जवाफ प्रतिनिधिसभामा दिएका छन् । असार २८ गते परमादेश दिएर गठबन्धन सरकार बनाइदिएको भन्दै जबराले दुईवटा मन्त्री पद मागेको बताइएको थियो। यसबारे गठबन्धन सरकारमा छलफल भए पनि अहिलेसम्म जबराका लागि भाग छुट्याइएको छैन।